भारतमा बनेका ५ इलेक्ट्रीक एसयूभी बजार प्रबेश गर्दै

काठमाडौं । भारतमा विद्युतीय कारको बिक्रीमा सुधार हुन नसक्दा उत्पादनमा पनि कम्पनीहरु केन्द्रित भएको देखिदैन । तर, विश्वभर ईभीको चर्चा र बिक्री बढ्दै जाँदा भारत अलग रहन सक्दैन भन्ने सोचाइबाट उत्पादकहरु अगाडि बढेका छन् ।

गत बर्ष भारतमा ईभीको हिस्सा करिब २ प्रतिशत रहेको थियो । भारतमा कार उत्पादन गर्ने मुख्य ४ अटोमोवाइल कम्पनीहरु मारुती सुजुकी, हुन्डाई, टाटा र महिन्द्राले निकट भविष्यमै नयाँ ईभी मोडल लन्च गर्ने योजना बनाएका छन् ।

भारतीय कार निर्माता टाटा र महिन्द्राले डेडिकेटेड ईभी प्लेटफर्ममै नयाँ मोडल ल्याउने तयारी गरेका हुन् । त्यस्तै मारुती सुजुकीले पनि टोयोटा मोटर्ससँगको सहकार्यमा डेडिकेटेड ईभी प्लेटफर्ममै नयाँ मोडल ल्याउने छ । हुन्डाईले भने आफ्नो चर्चित मिडसाइज एसयूभी क्रेटालाई ईभीमा ल्याउन लागेको हो ।

भारतमा बिक्री सुरु भएसँगै यी सबै मोडलहरु नेपाली बजारमा समेत आउनेछन् । टाटाले आगामी अगस्ट ७ मा नयाँ मोडल कर्भ ईभी लन्च गर्ने घोषणा गरिसकेको छ । निकट भविष्यमै लन्च हुने अन्य केहि ईभी मोडलका बारेमा यहाँ चर्चा गर्दैछौं ।

महिन्द्रका दुई मोडल

महिन्द्राले एक्सयूभी ४०० भन्दा सानो साइजमा तयार गरिरहेको एक्सयूभी थ्रीएक्सओ आगामी महिना लन्च हुने सम्भावना छ । यो ईभीको ब्याट्री र इलेक्ट्रीक मोटरको आधिकारीक जानकारी बाहिर आएको छैन । यद्यपि, यसको रेन्ज ३५० किलोमिटरसम्म हुने बताइन्छ ।

त्यस्तै महिन्द्राले डेडिकेटेड ईभी इनग्लो प्लेटफर्ममा निर्माण गरेको एक्सयूभी ई८ आगामी वर्षको सुरुवातमै लन्च हुनेछ । यसको डिजाइन र फिचर भने आइसीई एक्सयूभी ७०० मा आधारित रहेको छ ।

टाटा ह्यारियर इभी

टाटाले आफ्ना सबै मोडललाई ईभीमा पनि ल्याउने गरेको निर्णय अनुसार ह्यारीयरको इलेक्ट्रीक भर्सनको तयारी गरिरहेको छ । कम्पनीले यसको सडक परीक्षण थालेको लामै समय भयो । कम्पनीले कर्भ ईभीपछि ह्यारीयरलाई बजारमा ल्याउने छ ।

सिंगल र डिउल इलेक्ट्रीक मोटर गरी दुई अप्सनमा आउने यो एसयूभी फोर ह्वील ड्राइभ भएको टाटाको पहिलो ईभी मोडल हुनेछ । यसै वर्षको भारत मोविलीटी एक्स्पोमा एक्सटेरियर देखाएको टाटा ह्यारियरको रेन्ज ५०० किलोमिटरसम्म हुने दावी गरिएको छ ।

हुन्डाई क्रेटा इभी
हुन्डाईले भारतमा सबैभन्दा धेरै बिक्री गर्ने मिडसाइज एसयूभी क्रेटालाई ईभीमा ल्याउने भएको छ । यो ईभीमा हुन्डाईको अन्तर्राष्ट्रिय मोडल कोना ईभीकै इलेक्ट्रीक मोटर प्रयोग हुनेछ ।

रेगुलर क्रेटामै भएका धेरै फिचरसहित आउने क्रेटा ईभी लुक्समा भने फरक देखिने छ । कम्पनीले यसमा ४५ देखि ५० किलोवाट आवरको ब्याट्री प्याक दिनेछ । यसको रेन्ज ४०० किलोमिटर माथि हुने अनुमान गरिएको छ ।

मारुती सुजुकी ईभीएक्स

जापानीज कम्पनी सुजुकीले अर्को जापनीज कम्पनी टोयोटासँग मिलेर विकास गरेको ईभीएक्स आगामी वर्ष मात्रै लन्च हुनेछ । यो ईभीलाई सुजुकीले भारतमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना बनाएको छ ।

सुजुकी ईभीएक्समा ६० किलोवाट आवरको ब्याट्री प्याक हुने तथा ५५० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । कम्पनीले ईभीएक्समा एडास फिचरसहित लोडेड क्याविन दिनेछ ।


Back_to_top