स्कर्पियोको नयाँ यात्राः दुई मोडलका ९ भेरियन्ट, मूल्यलाई पर्फमेन्सले जित्छ

काठमाडौं । स्कर्पियो नेपालमा हरेकले लिन सक्ने र जानेको नाम हो । अझ पहाडि बाटोमा यसले दिएको सेवा कसैसामु छिपेको छैन ।

सरकारी, अर्धसरकारी, राजनीतिज्ञ, ब्यापारी सबैले प्रयोग गर्ने स्कर्पियो पहाडी र हिमाली क्षेत्रको पर्यटनको लागि मूख्य साधन हो । खराब बाटाहरुमा उच्च पर्फमेन्स दिएर सबैको मन जित्न सफल स्कर्पियो समयसँगै आफ्नो डिजाइन र फिचरमा बदलाव ल्याउन सफल मोडल मानिन्छ ।

सन् २००२ बाट उत्पादन सुरु भएको महिन्द्रा स्कर्पियोले २१ वर्ष पुरा गरिसकेको छ । सुरुवातदेखि नै बल्की डिजाइन, ७ देखि ९ सिट क्षमता र अफरोडमा उच्च पर्फमेन्स भएकै कारण यसले धेरैको मन जित्न सफल भएको हो । नेपालमा पनि विगत १८ वर्षदेखि यसले सफलताको प्रतिफल पाइरहेको छ ।

नेपालको हकमा स्कर्पियो एसयूभीसँगै स्कर्पियो पीकअपको सफलता राम्रो मानिन्छ । डबल क्याव पीकअपमा स्कर्पियो नयाँ मानक स्थापित गर्न सफल भएको थियो । समय क्रमसँगै स्कर्पियोलाई कम्पनीले परिमार्जन गर्दै लग्यो । अहिले पनि यसको मूल्यलाई पर्फमेन्सले सहजै जित्छ ।

सन् २०२१ मा आइपुग्दा स्कर्पियो दुई फरक बडी डिजाइनमा आयो । कम्पनीले पहिलेदेखि उपलब्ध मोडलमा केहि परिमार्जन गरेर स्कर्पियो क्लासिक बनायो भने नयाँ डिजाइनमा स्कर्पियो एन बजारमा ल्यायो । अहिले यी दुबै मोडल नेपालमा किन्न पाइन्छ ।

नेपालमा किन्न पाइन्छ दुई मोडल ९ भेरियन्ट

अग्नी इनकर्पोरेट प्रालिले बिक्री गर्दै आएको स्कर्पियो क्लासिक ५ भेरियन्टमा उपलब्ध छ भने नयाँ स्कर्पियो एन मोडल विभिन्न ४ भेरियन्टमा किन्न पाइन्छ ।

अहिले पनि पहाडी क्षेत्रको लागि स्कर्पियो कम बजेटमा पाइने निर्विकल्प साधन हो भन्न सकिन्छ । प्रिमियम ब्राण्डका ठूला एसयूभीको मूल्य १ करोडदेखि ५ करोडसम्म पर्छ । तर, स्कर्पियो अहिले पनि ५६ लाख ५० हजार रुपैयाँबाटै खरिद गर्न सकिन्छ ।

स्कर्पियो क्लासिक

स्कर्पियो क्लासिकको सबैभन्दा सस्तो भेरियन्ट एस-५ टुह्वील ड्राइभ हो । यसको मूल्य ५६ लाख ५० हजार रुपैयाँ छ । त्यस्तै यसको फोर ह्वील ड्राइभको ६१ लाख रुपैयाँ पर्छ ।

अग्नीले स्कर्पियो क्लासिक एस-११ पनि टु ह्वील र फोर ह्वीलमा बिक्री गर्दै आएको छ । यसको टु ह्वीलको मूल्य ७० लाख रुपैयाँ छ भने फोर ह्वीलको ७७ लाख रुपैयाँ पर्छ । यी सबै भेरियन्टमा २.० लिटर डिजेल इन्जिन छ ।

स्कर्पियो क्लासिक एस-११ टु ह्वील ड्राइभ २.२ लिटर इन्जिन अप्सनकाे भने ८० लाख ८५ हजार रुपैयाँ पर्छ ।

स्कर्पियो-एन

स्कर्पियो-एन भने तुलनात्मक रुपमा क्लासिक भन्दा महंगो छ । एन सिरिजको इन्ट्री भेरियन्ट जेड-४ हो । सबै भेरियन्टमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ । जेड-४ टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ८१ लाख ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, जेड-४ फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य ९० लाख रुपैयाँ छ । जेड-८ भेरियन्ट पनि फोर ह्वील ड्राइभमा नै उपलब्ध छ । यसको मूल्य १ करोड १४ लाख तोकिएको छ ।

स्कर्पियो सिरिजकै सबैभन्दा महंगो भेरियन्ट जेड-८ को अटोमेटीक हो । यसको मूल्य १ करोड २४ लाख तोकेर बिक्री हुँदै आएको छ ।


Back_to_top