काठमाडौं । बिपी हाइवे अर्थात् सिन्धुली रोडको सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (इआईएस) जडान गरिएको छ । यसको सहयोगले बनेपादेखि बर्दिबाससम्मको १६० किलोमिटर सडकमा बर्षा, पहिरो, दुर्घटना वा अन्य अवरोधका वारेमा आवश्यक जानकारी घरैमा बसेर अनलाइन रुपमा हेर्न सकिन्छ । यो प्रविधि नेपालमै पहिलो पटक थालनी गरिएको हो ।
यसका लागि eis.dor.gov.np मा लगइन गर्न सकिन्छ । त्यसैगरी कुनै समयमा सडक अवरुद्ध भएमा पनि कुन समयमा सुचारु हुन्छ भन्ने जानकारी समेत पाउन सकिन्छ । यात्रु तथा चालकले पनि सडकका वारेमा आवश्यक जानकारी अपडेट गराउन सक्छन् ।
त्यसैगरी यसमा राखिएको अटोमेटिक रेनफल अब्जर्भेसन सिस्टमको सहयोगले बर्षाको अवस्थाका वारेमा पनि थाहा पाउन सकिन्छ । साइटमा रहेको रेनफल आइकनमा क्लिक गर्दा बानेश्वर, भक्तपुर, सिन्धुली बजार र बर्दिबासको तापक्रम र बर्षाको अवस्था विस्तृत रुपमा हेर्न सकिन्छ । यसका साथमा रेनफल स्टेशन लोकेसन म्याप पनि उपलब्ध छ ।

