काठमाडौं । सडक विभागले राष्ट्रिय महत्वका व्यवसायीक नाका जोड्ने सडक निर्माणलाई तिब्रता दिएको छ । सरकारले बजेट मार्फत व्यापारिक नाका जोड्ने सडक निर्माण र विस्तारलाई प्राथमिकतामा राखेसँगै सडक निर्माणले प्राथमिकता पाएको हो ।
नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सडक विभागको मातहतमा निर्माणाधिन सडकखन्डहरुको काम धमाधम भैरहेको छ । आर्थिक वर्ष २०७५÷२०७६ को लागि अर्थ मन्त्रालयले ७४ अर्ब रुपैयाँ सडक निर्माण तथा स्तरोन्नतीको लागि विभागलाई दिएको थियो । उक्त रकमले विभागले सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तिब्रता दिएको हो ।
यहि आर्थिक वर्षमा सम्पन्न गर्नेगरी रानी–विराटनगर–इटहरी–धरान सडकखन्ड, जटही–जनकपुर–ढल्केवर सडकखन्ड, विरगञ्ज–पथलैया सडकखन्ड, उत्तर–दक्षिण व्यापारिक मार्ग (बेलहीया–बुटवल) सडकखन्ड र मोहनापुल–अत्तरिया सडकखन्ड बिस्तारको काम भइरहेको छ ।
अहिले सडक विभागअन्तर्गत मुख्यरुपमा हुलाकी राजमार्ग, धरान–चतरा–गाईघाट सडकखन्ड, त्रिशुली–स्याफ्रुबेशी सडकखन्डलगायतका सडकहरु निर्माणाधीन रहेको छ । सडक विभागका अनुसार यी बाहेकपनि अन्य पाँचवटा मुख्य व्यापारीक राजमार्गहरु निर्माणाधीन रहेका छन् ।
‘सडक निर्माण, विस्तार र मर्मत संभारलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौ । नियमित अनुगमन र सरोकारवाला निकायसँग समन्वय गर्दै काम अगाडि बढेको छ’ विभागका सहायक प्रबक्ता रमेश कुमार सिंह भने ।
विभागले यहि आर्थिक वर्षमा सम्पन्न गर्नेगरी रानी–विराटनगर–इटहरी–धरान सडकखन्ड, जटही–जनकपुर–ढल्केवर सडकखन्ड, विरगञ्ज–पथलैया सडकखन्ड, उत्तर–दक्षिण व्यापारिक मार्ग (बेलहीया–बुटवल) सडकखन्ड र मोहनापुल–अत्तरिया सडकखन्ड बिस्तारको काम भइरहेको सिंहले मेरोअटोसँग बताए ।
विगतमा ठेकेदारहरुको लापरवाहीका कारण सडक निर्माणको कार्यमा समस्या उत्पन्न भएपनि सानातीना समस्या बाहेक प्रायः नियमित जस्तो सडक निर्माणको काम भैरहेको विभागले जनाएको छ ।

