केटीएम ३९० ड्यूक थर्ड जेनेरेशन मोटरसाइकल नेपाल आउँदै

काठमाडौं । केटीएम २५० को नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक भएको केही समय पछि नै ३९० ड्यूकको नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक हुन भएको छ । कम्पनीले केटीएम ३९० ड्यूकको तेस्रो जेनेरेशन मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले केटीएमको सोसल मिडिया पेजमार्फत केटीएम ३९० ड्यूकको २०२४ भर्सन ल्याउने बताएको हो ।

कम्पनीले केही दिन अघिमात्र विभिन्न परिमार्जन सहित सार्वजनिक गरेको केटीएम २५० ड्यूकको तेस्रो जेनेरेशन एक हप्ता नबित्दै सोल्ड आउट भएको थियो ।
केटीएमले २५० ड्यूकमा जस्तै ३९० ड्यूकको समेत च्याचिस, इन्जिन तथा विभिन्न फिचरहरु समेत थप गरेर ल्याउने भएको हो ।

नयाँ ३९० ड्यूकमा ५ इन्च टीएफटी डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, टर्नवाइटर्न नेभिगेशन, कल अलर्ट, सुपर मोटो एबीएस, कर्नरिङ एबीएस, ट्रायक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध हुनेछ । यसमा केटीएमले पहिलो पटक एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन दिने भएको छ ।

यसमा अल न्यू ३९९ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । यसले ४६ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडबक्स गियर उपलब्ध हुनेछ ।
कम्पनीले सार्वजनिक गर्ने मिति तथा मूल्यका बारेमा कुनै जानकारी दिएको छैन ।


Back_to_top