भारतमा कार उत्पादन गर्ने ६ कम्पनीको बिक्री बढ्यो, धेरैको घट्यो

काठमाडौं । भारतमा नै कार उत्पादन गरेर बिक्री गर्ने ६ कम्पनीको बिक्री बढ्दा ८ कम्पनीको बिक्रीमा गिरावट आएको छ । बिक्री घट्नेमा विशेषगरी यूरोपीयन ब्राण्डका उत्पादन हुन् ।

बिक्री वृद्धिका हिसावले सबैभन्दा धेरै टोयोटाले गरेको छ । मार्च महिनाको बिक्रीको आधारमा अघिल्लो वर्ष मार्चको तुलनामा यसवर्ष मार्चमा कम्पनीले ३४.५ प्रतिशतले बिक्री बढाएको हो ।

अघिल्लो वर्ष मार्चमा १८ हजार ६७० यूनिट कार बिक्री गरेको टोयोटाले अहिलेको सोही अवधिमा २५ हजार ११९ यूनिट बिक्री गरेको हो । त्यसपछि धेरै वृद्धि मारुती सुजुकीले गरेको छ । कम्पनीले १५ प्रतिशतले बिक्री बढाएको हो ।

मारुतीले गत महिना १ लाख ५२ हजार ७१८ यूनिट कार बिक्री गरेको छ । टाटाले १३.८ प्रतिशतले बिक्री बढाउँदा महिन्द्राले १२.९ प्रतिशतले बिक्री बढाएको हो ।

अघिल्लो महिना टाटाले ५० हजार १०५ यूनिट कार बिक्री गर्दा महिन्द्राले ४० हजार ६३१ यूनिट कार बिक्री गरेको छ । हुन्डाईको बिक्री भने ४.७ प्रतिशतले मात्रै बढेको छ । हुन्डाईले गत महिना ५३ हजार १ यूनिट भारतीय बजारमा बिक्री गरेको हो ।

जापानी ब्राण्ड होन्डाले पनि बिक्री बढाएको छ । उसले ५.७ प्रतिशतले बिक्री बढाउन सफल भएको हो ।

सिट्रोनको बिक्रीमा सबैभन्दा धेरै गिरावट आएको छ । कम्पनीले अघिल्लो वर्ष मार्चमा २ हजार १५ यूनिट कार बिक्री गरेको थियो । यस वर्षको सोही अवधिमा १ हजार ६ यूनिट मात्रै बिक्री गर्न सफल भएको छ । कम्पनीको बिक्रीमा ५०.१ प्रतिशतले गिरावट आएको हो ।

त्यस्तै, जीपको बिक्री ३७.५ प्रतिशत, स्कोडाको बिक्री ३६ प्रतिशतले घटेको छ । एमजीको बिक्रीमा पनि २३.२ प्रतिशतले गिरावट आएको हो । सबैभन्दा कम गिरावट कियाले ब्योहोरेको छ । उसको बिक्रीमा ०.५ प्रतिशतको गिरावट देखिन्छ ।

निसानले १७.१ र फक्सवागेनले ९.५ प्रतिशतले बिक्री गुमाउँदा समग्र बजारले भने ९.९ प्रतिशतको वृद्धि पाएको छ । गत महिना भारतमा ३ लाख ६९ हजार ३८१ यूनिट कार बिक्री भएको थियो ।


Back_to_top