काठमाडौं । आर्थिक मन्दी र बढ्दो ईभीको बिक्रीले कम्बस्चन गाडीको बिक्री झन्झन् सुस्ताउँदै गएको छ । मुख्य गरी जापानी, यूरोपियन र भारतीय कार निर्माताको आधिकारिक बिक्रेता लिएर काम गर्दै आएका व्यवसायीहरू अहिले आफ्नो व्यवसाय कसरी बचाउने भन्ने अन्योलमा पर्न थालेका छन् ।
बजारमा बलियो पकड बनाएका टोयोटा, फक्सवागेन, स्कोडा, निसान, महिन्द्रा, सुजुकी जस्ता ब्राण्ड ईभीको उपलब्धता नहुँदा समस्यामा छन् । अर्कोतर्फ ईभी भएर पनि हुन्डाई र किया जस्ता ब्राण्डले चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।
अझ फोर्ड, मित्शुबिसी, सुबरु, होण्डा, माज्दा जस्ता ब्राण्डले कहिले ईभी बजारमा ल्याउँछन् एकीन छैन । अहिले यी कम्पनीसँग पेट्रोल कार मात्रै उपलब्ध छ । पेट्रोल कारको बिक्री नगन्यमा झरेको छ ।
‘अहिले ठ्याक्कै योजना नै बनाउन सकिएको छैन । बजार त ईभीमै गए जस्तो लाग्छ । तर, अहिले पनि दोस्रो गाडी किन्नेले मात्रै ईभी रोजेको पाएका छौं । पहिलो गाडी किन्नेले आर्थिक मन्दीको कारण सोच्न सकेको देखिँदैन,’ एक बिक्रेताले भने ।
भारतमा ईभीको उत्पादन र बिक्री नबढ्दा त्यहाँका गाडी ल्याएर बिक्री गर्ने कम्पनीहरूले बजार हिस्सा गुमाउँदै गएका हुन् । साथै, चिनियाँ उत्पादनको तुलनामा भारतीय उत्पादनको लागत समेत बढी रहेको कारण आएका गाडीले पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना भएको देखिन्छ ।
सन् २०२५ अधिकांशको लक्ष्य
अहिले चुपचाप रहे पनि सन् २०२५ मा अधिकांश कम्पनीले नयाँ ईभीसहित बजारमा आफूलाई प्रस्तुत गर्न लागेको देखिन्छ । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी २०२५ को सुरूआतमै नेपाल ल्याउनेछ ।
हुन्डाईले भारतमा उत्पादन भएको क्रेटा ईभी, महिन्द्राले एक्सयूभी ४०० र अर्को एक नयाँ ईभी ल्याउने छ । स्कोडादेखि फक्सवागेनसम्मले विद्युतीय कार ल्याउन प्रयास गरिरहेका छन् ।
रेनो, प्यूजो, टोयोटा, निसान, होन्डा लगायतका ब्राण्डले पनि सन् २०२५ मा नयाँ विद्युतीय कार नेपाल ल्याएर बिक्री सुरू गर्ने योजना बुनेका छन् । यी सबै योजना अनुसार गाडी आउने हो भने अहिले पेट्रोल कार देखाएर बसेका कम्पनीहरूले पनि ईभीमा आफ्नो भाग्य खोज्न पाउने छन् ।
बजेटको त्रास
नेपालमा बजेटले धेरै थोरै मूल्य बढाउने आँकलन गरिएको छ । अर्कोतिर चीन बाहेकका देशले ईभीको लागत घटाउन नसकेको कारण आफ्ना उत्पादन प्रतिस्पर्धी नहुने हो कि भन्ने शंका व्यवसायीहरू व्यक्त गर्छन् ।
चालु आर्थिक वर्षमा नै लक्ष्यभन्दा निकै कम राजस्व उठेको भन्दै माघ महिनामै ईभीको कर थपघट गर्ने हल्ला चलेको थियो । त्यही हल्लालाई ध्यानमा राखेर ठूलो परिमाणमा विद्युतीय गाडी पुसमा आयात भयो ।
आगामी आर्थिक वर्षको बजेट आउन ५० दिनभन्दा कम समय बाँकी छ । यस्तोमा सरकारले ईभीको कर कति चलाउँछ भन्ने चिन्ता व्यवसायीमा देखिन थालेको छ ।


