चीनमा प्रतिस्पर्धा : टेस्लाले घटायो मूल्य, बीवाइडीले थप घटाउने

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्यमा आएको गिरावटसँगै टेस्लाले आफ्नो कारको मूल्य घटाएको छ । कम्पनीले आफ्नो कारहरुको मोडल अनुसार ४ देखि २२ प्रतिशतसम्म मूल्य कटौती गरेको हो ।

लिथियम आयोनको मूल्य निरन्तर घटिरहेको छ । चीनको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी बीवाइडीले आफ्नो सबै मोडलको मूल्य कटौती गरेको थियो । कम्पनीले सन् २०२४ को अन्त्यसम्ममा थप २० प्रतिशतले मूल्य घट्न सक्ने अनुमान सार्वजनिक गरेको छ ।

चीनमा बीवाइडीपछि धेरै संख्यामा ईभीको बिक्री गर्ने टेस्ला हो । टेस्लाले चीनमा उत्पादन हुने मोडल थ्री र मोडल वाईको मूल्यमा ४ देखि ६ प्रतिशतले घटाएको छ । त्यसैगरी आयात गरेर बिक्री गरिने मोडल एस र मोडल एक्सको मूल्यमा भने २२ प्रतिशतसम्मले घटाएको हो ।

टेस्लाले संघाइमा रहेको प्लान्ट गिगा संघाइमा मोडल थ्री र मोडल वाई उत्पादन गर्ने गर्छ । मोडल थ्री दुई भरियन्टमा उत्पादन हुन्छ भने मोडल वाई तीन भेरियन्टमा उत्पादन हुने गरेको छ ।

त्यस्तै आयात गरेर बिक्री भईरहेको मोडल एसको मूल्य २०.८ प्रतिशतले घटेको छ भने मोडल एक्सको मूल्य २२.१ प्रतिशतले घटेको हो ।

टेस्लाले सन् २०२४ को पहिलो क्वाटरमा ३ लाख ८६ हजार ८१० वटा भेहिकल बिक्री गरेको छ । उक्त संख्या अघिल्लो वर्षको सोहि क्वाटरको तुलनामा ८.५३ प्रतिशत र २०२३ को चौथो क्वाटरको तुलनामा २०.१६ प्रतिशतले घटेको हो ।

पछिल्लो क्वाटरमा कम्पनीले चीनमा मात्रै १ लाख ३२ हजार ४२० यूनिट कार बिक्री गरेको देखिन्छ । जुन संख्या विश्वमा बिक्री भएको टेस्लाको ३४.२३ प्रतिशत हो ।


Back_to_top