निसान माइक्रा ईभीमा ५२ किलोवाट आवरको ब्याट्री

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले माइक्रा ईभीको उत्पादन गर्ने भएको छ । यसै वर्षको अन्त्यसम्ममा माइक्रा ईभी बजारमा आउने भएको हो ।

रेनो-निसान-मित्सुविसी एलायन्सको फराकिलो रणनीति अनुसार कम मूल्यको विद्युतीय कारको रुपमा माइक्रा ईभी ल्याउन लागिएको हो । माइक्रा ईभी रेनो-फाइभ निर्माण भएको ‘एएमपी आर प्लेटफर्म’मा बन्नेछ ।

धेरै कुरा रेनो-फाइभसँग सेयर हुन लागेको माइक्रा ईभीमा पनि ५२ किलोवाट आवरको ब्याट्री प्याक रहने अनुमान गरिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हारहारी रेन्ज दिने छ ।

इलेक्टीक भेहिकलको बजारलाई सहयोग गर्ने उद्देश्यले निसानले हालै मात्र आर्क बिजनेस प्लान तयार गरेको थियो । यसका माध्यमबाट नेक्स्ट जेनेरेशन ईभीहरुको मूल्य ब्यापक कटौती गर्न सकिने कम्पनीको दावी छ ।

यसका अलावा निसानले वेलायतको सन्डरल्याण्ड प्लान्टमा ३.८ बिलियन डलर थप लगानी घोषणा गर्दै तीन वटा नयाँ ईभी मोडल ल्याउने जनाएको छ ।

निसानले ब्याट्री टेक्नोलोजी विकासमा पनि धेरै काम अगाडि बढाएको छ । सन् २०२८ बाट आफ्ना सम्पूर्ण गाडीमा सोलिड स्टेट ब्याट्री प्रयोग हुने कम्पनीले घोषणा गरिसकेको छ ।

निसानले सन् २०३० सम्ममा आफ्ना ईभी र आईसीइ भेहिकलको मूल्य समान हुने जनाएको छ ।


Back_to_top