काठमाडौं । सिजी मोटर्सले हिरोका उत्पादन बिक्री सुरु गरेको छ । कम्पनीले काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै बिक्री सुरु भएको घोषणा गरेको हो ।
मेरोअटोले यसअघि रिपोर्ट सार्वजनिक गरेको जस्तै नयाँ मोडल जुम र यसअघि बिक्री हुँदै आएका एक्सपल्स २०० फोर भी, सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लसको बिक्री सुरु भएको हो ।
‘नेपालमै बनेको’ नारासहित बिक्री सुरु भएको हिरोका उत्पादनले बजारमा उच्च स्थान बनाउने हिरो मोटोकर्पले दावी गरेको छ । हिरो मोटोकर्पका ग्लोबल बिजनेस युनिटका चीफ बिजनेस अफिसर सन्जय भानका अनुसार हिरो विगतमा जस्तै चाँडै नेपालमा पनि पहिलो हुने दावी गरे ।

कार्यक्रममा सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभर नेटवर्क विस्तार गर्ने र विश्वस्तरिय सेवा प्रदान गर्ने बताए । उनले भने, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन कटिवद्ध छौं ।’
विगत १३ महिनादेखि हिराका कुनै पनि नयाँ उत्पादन नेपाल आएका थिएनन् । यसअघि बिक्रेता रहेको एनजीएम र हिरो मोटोकर्पको बीचमा समस्या उत्पन्न भएपछि डिलरसिप विवाद चर्केको थियो । पछि सिजी मोटर्स नयाँ डिलर नियुक्त भएर आजबाट बिक्री सुरु भएको हो ।
यस्तो छ नयाँ मूल्य
सिजीले सुपर स्प्लेन्डरमा मूल्य २ लाख ४० हजार ९०० रुपैयाँ तोकेको छ । एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार तोकिएको छ । यसको मूल्य २ हजार ५०० रुपैयाँले घटेको हो ।

कम्पनीले स्प्लेन्डर प्लसको मूल्य २ लाख ६ हजार ९०० रुपैयाँ तोकेको छ । नया आएको जुम ११० स्कुटरको मूल्य २ लाख ४९ हजारदेखि २ लाख ६० हजारसम्म तोकिएको छ ।


