काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सीएफ मोटो २५० एनके फन, २५० एसआर फन र ४५० एनके सार्वजनिक गरेको हो ।
कोभिड १९ पछि केही समय बिक्री बन्द भएको सीएफ मोटो मोटरसाइकल ऋषि ट्रेड सेन्टरले पुनः नेपाली बजारमा ल्याएको हो । कम्पनीले अपडेट भर्सनसहितका मोटरसाइकल ल्याएको हो ।
कम्पनीका जनरल मेनेजर उज्जल जोशीले चाँडै नयाँ मोडलको मोटरसाइकल समेत नेपाली बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
कम्पनीले मोटरसाइकल बिक्रीका साथै बिक्रीपछिको सेवालाई समेत आक्रामक रूपमा विस्तार गर्ने योजना बनाएको छ । पहिला ग्राहकले पार्टस नपाउने गुनासो सुन्ने गरेकोमा अब यो समस्या नहुने र गुणास्तरमा कुनै गुनासो नआउने गरी काम गर्ने जोशीले बताए ।
सीएफ मोटो २५० एनके फन
नेकेड स्पोर्टस डिजाइनको २५० एनके फनमा २४९ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डीओएचसी सेटअप यूरो ५ इन्जिन रहेको छ । पावरफुल यो इन्जिनले २७.५ हर्षपावर तथा २२ न्यूटन मिटर अफ टर्क जेनेरट गर्छ । यो मोटरसाइकलमा ६ स्पीड गियरबक्सका साथै स्लाइी क्लच, टीएफटी डिस्प्ले, राइड मोड एबीएस जस्ता फिचर पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
सीएफ २५० एसआर फन
२५० एनकेमा आधारीत यो स्पोर्टस डिजाइनको मोटरसाइकलमा २५० एनके कै इन्जिन प्रयोग गरिएको छ । यसको पावर समेत समान रहेको छ । २५० एसआरमा ३७ एमएम टेलिस्कोपिक यूएसडी फर्क, स्लिपर क्लच, एबीएस जस्ता फिचर उपलब्ध छ । यसको मूल्य कम्पनीले ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
सीएफ ४५० एनके
सीएफ ४५० एनकेमा पावर फुल ४५० सीसी डबल सिलिन्डर प्यारलल ट्वीन इन्जिन दिइएको छ । यो इन्जिनले ५० बीएच पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस, यूएसडी फर्क, अल एलईडी लाइट जस्ता फिचर उपलब्ध छ । यसको मूल्य ११ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ । योसँगै नेपालमा उपलब्ध डबल सिलिन्डर मोटरसाइकलमा सबैभन्दा कम मूल्यको मोटरसाइकल ४५० एनएके भएको छ ।


