काठमाडौं । सरकारले उच्च कर लगाएर महंगो बनाएको पेट्रोल कारको इन्ट्री मोडल किन्न नै २५ लाख तिर्नु पर्ने अवस्था सृजना भएको छ । तर, ईभीमा भने १५ लाखदेखि २२ लाख मूल्यमा केही छनोट उपलब्ध छन् ।
अहिले बजारमा कम मूल्यको ईभी बिक्री गर्नेमा सेरेस ई-१, एमजी कोमेट, हेनरी, विलिङ जस्ता मिनी कार छन् । यी कारहरु ४ जना यात्रुले आरामदायी यात्रा गर्न सक्नेगरी तयार गरिएको छ । यसका अलावा चांगानको लुमिन र भोल्ट्स कम्पनीको ईभी पनि आउने क्रममा छन् । यी दुबै कम्पनीले ल्याउने कार नाडा अटो शोबाट बिक्री सुरु हुनेछ ।
मूल्यका हिसावले सस्तो पर्ने यी कारहरु थोरै पार्किङ स्थलमा पनि राख्न सकिन्छ । साथै, साँघुरा गल्लीदेखि सहरी क्षेत्रमा सहजै चलाउन सकिने भएको कारण धेरैले यस्ता कारमा चासो देखाइरहेका छन् ।
पछिल्लो समय एमजी कोमेट र सेरेस ई-१ मोडलले निकै राम्रो ग्राहक पाउन सफल भएका थिए । यी दुबै कार नेपाल आएको करिब ९ महिना भएको छ । सेरेस ई-१ को टप भेरियन्टको मूल्य १७ लाख रुपैयाँ छ । त्यस्तै कोमेटको मूल्य १७ लाख ९९ हजारदेखि २० लाख ९९ हजारसम्म पर्छ ।

हेनरी मिनी ईभीको मूल्य अहिले १९ लाख ९० हजार रुपैयाँ छ । विलिङ एयर मिनी ईभीको मूल्य पनि २० लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
१५ किलोवाट आवरदेखि २० किलोवाट आवरसम्मका ब्याट्री प्याक जडान भएका यी कारले १५० देखि १९० किलोमिटरसम्म रेन्ज दिनेछ । जुन सहरी क्षेत्रमा यात्रा गर्नेको लागि ३ तीनमा एक पटक चार्ज गर्दा पुग्छ ।
बजारमा थनि लागेको लुमिन र भोल्ट्स मोडलसँगै साना गाडी खोज्ने ग्राहकले नयाँ छनोट पाउने छन् ।


