काठमाडौं । विश्वकै सर्वाधिक चर्चामा रहने मध्येको एक ब्राण्ड कावासाकी नेपाल आउने भएको छ । यसअघि भारतमा बजाज र कावासाकीको सहकार्य हुँदा सन् २००० ताका कावासाकी-बजाजका उत्पादन नेपालमा थिए ।
जापानी मोटरसाइकल कम्पनीले भारतीय बजारमा उत्पादन थालेसँगै नेपाल आउन सक्ने चर्चा भइरहेको भएपनि त्यसको टुङ्गो लागेको थिएन । अब भने नेपाली बजारमा प्रबेश गर्ने निधो भएको कम्पनीले जनाएको छ ।
‘नेपाली बजारमा हाम्रो उत्पादन जाने निश्चित भएको छ । अबको केही दिनपछि नै त्यसको आधिकारीक घोषणा हुन्छ’, कावासाकी इन्डिया स्रोतले मेरोअटोसँग भन्यो ।
नेपालमा कावासाकीका उत्पादन ल्याउन यसअघि देखिनै ब्यवसायीक घरानाहरुले चासो देखाएका थिए । अहिले पनि कसलाई आधिकारीक बिक्रेता नियुक्त गरिएको हो भन्ने बारे केही खुलाइएको छैन ।
कावासाकी आफ्नो निन्जा सिरिजबाट विश्वभर रहेका मोटरसाइकल प्रेमिहरू माझ परिचित ब्राण्ड हो । कम्पनीले निन्जासँगै जेड, भर्से, डब्लू, इलिमिनेटर जस्ता चर्चित मोटरसाइकलको सिरिज नै उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ ।
विद्युतीय र हाइब्रिड मोटरसाइकल उत्पादनमा पनि अग्रसर कम्पनीले नेपाली बजारमा कुन–कुन मोडल पठाउने छ भन्ने एकिन जानकारी आएको छैन । जुन मोडलहरु बजारमा आएपनि कावासाकी ब्राण्ड नै नेपालको लागि प्रिमियम हुने पक्का छ ।
सायद, सुरुमा भारतमा उत्पादन हुँदै आएको डब्लू १७५ स्ट्रीट र डब्लू १७५ मोडल आउने छन् । त्यसोसँगै डर्ट सेग्मेन्टका मोटरसाइकल पनि नेपाल आउन सक्नेछ ।

