काठमाडौं । सिजी मोटर्सले नेपाल ल्याउने घोषणा गरेको ‘नेटा-एक्स’ अब भने बिक्री सुरु हुने भएको छ । कम्पनीले साउनको दोस्रो साताबाट बुकिङ गरेर बसेका ग्राहकलाई गाडी उपलब्ध गराउन लागेको हो ।
‘हामीले अहिले टेष्ट ड्राइभ गर्ने, गाडीको पर्फमेन्स चेक गर्ने र बुकिङ लिने गरिरहेका छौं । अब साउनको दोस्रो साताबाट यसको बिक्री सुरु गर्नेछौं’, कम्पनी स्रोतले भन्यो ।
अघिल्लो वर्ष आयोजना भएको नाडा अटो शो २०२३ मा पहिलो पटक नेटा यू मोडल ल्याएर बुकिङ खुला गरिएको नेटा एक्स अबभने बिक्री सुरु हुने भएको हो । झण्डै एक वर्षपछि बजारमा आउन लागेको नेटा एक्सको मूल्य भने पुरानै कायम हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।
‘अहिले बुकिङ गरेर बसेका ग्राहकलाई मूल्य बढाउने कुरा भएन । सुरुमा त्यहि अनुसारको गाडी आयात भइरहेको छ । मूल्य पुरानै राखेर बिक्री सुरु हुन्छ’ सिजी मोटर्स स्रोतले भन्यो ।

कम्पनीले नेटा-एक्सलाई तीन भेरियन्टमा ल्याउने छ । दुई ब्याट्री अप्सनसहित तीन भेरियन्टमा आउने नेटा-एक्समा ५१.८ किलोवाट आवर र ६२ किलोवाट आवरको ब्याट्री रहने छ । सर्ट रेन्ज मोडल एउटा मात्रै भेरियन्ट (कम्फर्ट)मा उपलब्ध हुनेछ । त्यस्तै लङ रेन्ज मोडल कम्फर्ट र इन्टेलिजेन्ट भेरियन्टमा आउने छ ।
सर्ट रेन्ज मोडलले सिंगल चार्जमा ४०० किलोमिटर र लङ रेन्ज मोडलले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । दुबै मोडलमा समान ९९ किलोवाटको ब्याट्री रहने छन् ।
सिजी मोटर्सले सर्ट रेन्ज कम्फर्ट भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेर बुकिङ लिइरहेको छ । लङ रेन्ज मोडलको कम्फर्ट भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र इन्टेलिजेन्ट भेरियन्टको ६१ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

