रेसिङ कार र अफरोड एसयूभी डिएनएबीचको फाईट: एमजी जीएस VS जीप कम्पास

काठमाडौं । बेलायती अटो उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) को नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजी–जीएस मोडलको बिक्री–वितरण गर्दैआएको छ । त्यस्तै, अमेरिकन ब्रान्ड जीपको बिक्री–वितरण नेपाली बजारमा लाइफ अटोमोवाइलले गर्दैआएको छ । 

नेपाली बजारमा एमजी–जीएस मोडलको चारवटा भेरियन्ट बिक्री–वितरण हुँदैआएको छ । तीमध्ये जीएस मोडलको २.० एलयूएक्स एसयूभी निकै आकर्षक र ग्राहकको रोजाईमा पर्न थालेको छ । नेपाली बजारमा विगत ३ वर्षदेखि रहे पनि नयाँ डिस्ट्रीब्यूटरको हातमा परेसँगै यो गाडीको चर्चा धेरै हुनथालेको हो । 

नेपाली बजारमा यसको सिधा प्रतिस्पर्धा जीप कम्पाससँग रहेको छ । जीप कम्पास नेपाली बजारमा लाईफ अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ । यही वर्षको भदौ महिनाबाट बिक्री–वितरण सुरु भएको हो । भारतीय बजारमा निर्माण भएको कम्पासले नेपाली बजारमा निकै राम्रो व्यापार गरिरहेको छ । अहिले डिजेल र पेट्रोल भेरियन्ट गरी १० भेरियन्टमा उपलब्ध कम्पास सडकमा बाक्लै भेट्न सकिन्छ ।

अमेरिकी अफरोड एसयूभी डीएनबाट आएको जीप कम्पास र बेलायती रेसिङ्ग डीएनएबाट आएको एमजी जीएसमा रहेका फिचरलाई हामीले यहाँ तुलनात्मकरुपमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ । 

डायमेन्सन

एमजी–जीएसको लम्बाई ४ हजार ५०० एमएम रहेको छ भने चौडाई १ हजार ८५५ र उचाई १ हजार ६९९ एमएम रहेको छ । 

जीप कम्पास पेट्रोल भेरिएन्टको लम्बाई ४ हजार ३९५ एमएम रहेको छ भने चौडाई १ हजार ८१८ र उचाई १ हजार ६४० एमएम रहेको छ ।

एमजी जीएसको ग्राउन्ड क्लियरेन्स १ सय ८५ एमएम रहेको छ भने ह्वीलवेश २ हजार ६५० एमएम रहेको छ । उही जीप कम्पासको ग्राउन्ड क्लियरेन्स भने १७८ एमएममात्र रहेको छ । ह्वीलवेशको कुरा गर्दा कम्पासको २ हजार ६३६ एमएम रहेको छ । यसमा ५५ लिटर क्षमताको फ्यूल ट्याङ्की जडान गरिएको छ । 

डायमेन्सनअनुसार जीप कम्पासभन्दा एमजी–जीएस केही ठूलो रहेको छ ।

इन्जिन क्षमता तथा सस्पेन्सन

जीप कम्पासमा १३६८ सीसीको मल्टीएयर टर्बोचाज्र्ड इन्जिन दिइएको छ । यसले ५५०० आरपीएममा १६१ बीएचपी पावर जेनेरेट गर्छ भने २५०० देखि ४००० आरपीएममा २५० एनएम–टर्क जेनेरेट गर्छ । यसमा सेभेन–स्पीड अटोमेटीक डीडीसीटी गियर बक्स दिइएको छ । यो मोडल फोर–ह्वील ड्राइभ एसयूभी हो ।

एमजी–जीएसमा १९९५ सीसी फ्यूल इन्जेक्सन टर्बाेचाज्र्ड इन्जिन दिइएको छ । जसले २१८ बीएचपी पावरकासाथै ३५० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड डबल–क्लच अटोमेटिक ट्रान्समिसन लगाइएको छ । यूरो–५ इमिशन मापदन्डमा आधारित यो मोडल अल–ह्वील ड्राइभ एसयूभी हो ।

एक्सटेरियर विशेषता 

जीप कम्पासमा लाइटलाई विशेष प्राथमिकतामा राखिएको छ । कम्पनीले यसमा अगाडि र पछाडि दुबैतर्फ फग–ल्याम्प लगाएको छ । जीपमा पावर एड्जस्टेबल आउट–साइड मिरर रहेको छ । जीप कम्पासको फ्रन्ट ग्रील जीपको ट्रेडमार्कको रुपमा रहेको आईकोनिक ७ वटा प्वाल भएको अग्रेसिभ माचो लूक्समा रहेको छ । यसमा प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ्ग लाइट रहेको छ भने टेललाइट एलईडी रहेको छ । 

एमजी–जीएस मोडलको एक्सटेरियरका विशेषताअन्तर्गत पावर एड्जस्टेबल आउट–साइड मिरर, अटो फोल्डेबल तथा हिटेड आउट–साइड मिरर, जेनन हेडल्याम्स, अटो हेडल्याम्प्स, फ्रन्ट–फग ल्याम्प, एलईडी डेटाईम रनिङ्ग लाइट, एलईडी रियर टेल–ल्याम्प उपलब्ध छ । यसकासाथै, आकर्षक सनरुफ एरोडाइनामिक फ्रन्ट एन्ड रियर वाइपर ब्लेड्स, रियर रुफ स्पोइलरकासाथै सार्कफिन एन्टेनाजस्ता फिचर दिइएको छ ।

इन्टेरियर विशेषता

एमजीको जीएस मोडलमा इन्टेरियरमा आकर्षक लेदर–स्पोर्ट सिट–कभरकासाथै, सिक्स–वे इलेक्ट्रीकल्ली एड्जस्टेबल ड्राइभर तथा फोर–वे इलेक्ट्रीकल्ली एड्जस्टेबल फ्रन्ट–पेसेन्जर सिट, लाइट जडित ग्लोब–बक्स, रियर लगेज–कभरलगायतका विशेषताले एमजी जीएसलाई विशेष बनाएको छ । साथै, इन्फोनेन्टमेन्टका लागि यस कारमा ८ इन्चको टचस्क्रिन, ब्लू–टुथ कनेक्टीभीटी, ट्रीप कम्प्यूटर, यूएसबी कनेक्टिभिटीलगायतका सुविधा दिइएको छ । यसमा स्पोट्र्स मोडमा चलाउँदा ड्यासबोर्डको लाइट–कलर चेन्ज हुने सुविधा पनि रहेको छ । क्लाइमेट कन्ट्रोल तथा रियर एसी–भेन्ट, रिमोट कन्ट्रोल लकिङ्ग, सनरुफमा एन्टी–ट्रापजस्ता विशेषता छन् ।

जीप कम्पासको इन्टेरियर फिचरमा आकर्षक ड्यास–बोर्ड, स्टेरिङ्ग एड्जस्टमेन्ट, इलेक्ट्रीकल्ली एड्जस्टेवल रियर–भ्यू, हाइट एड्जस्टेवल ड्राइभिङ्ग सिट, फ्रन्ट आर्मरेष्ट, रियर आर्मरेष्ट, अगाडि कप होल्डर, किलेस इन्ट्री क्लाइमेट कन्ट्रोल, सूचना र मनोरन्जनका लागि इन्फोटेन्टमेन्ट सिस्टमजस्ता सुविधा रहेका छन् । कम्पासमा लेदर–सिट, एन्ड्रोइड अटो र एप्पल कार–प्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पावरफूल स्पीकर सिस्टमसमेत दिइएको छ ।

सुरक्षा फिचर 

एमजी–जीएसमा ड्राइभर तथा प्यासेन्जरको सुरक्षालाई मध्यनजर गर्दै इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम (ईएसपी), कर्नर ब्रेक–कन्ट्रोल (सीबीसी), इमर्जेन्सी ब्रेक–असिस्ट (ईबीए) र एबीएस तथा इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रीब्यूसन (ईबीडी) को सुरक्षा संयन्त्र जडान गरिएको छ । त्यतिमात्रै नभई इलेक्ट्रोनिक पार्किङ्ग–ब्रेक, एन्टी–रोलिङ्ग पोग्राम, ड्राइभर र फ्रन्ट प्यासेन्जरका लागि फ्रन्टमा एयरब्याग तथा कर्टन एयरब्याग, पछाडि बस्ने प्यासेन्जरको सुरक्षाका लागि साइड एयरब्यागसमेत जडान गरिएको छ । बच्चाको सुरक्षाको लागि चाइड लकलगायतका फिचर रहेका छन् । 

त्यस्तै, ड्राइभर र फ्रन्ट प्यासेन्जरका लागि थ्री–पोइन्ट सिट–बेल्ट, रियर पार्किङ्ग सेन्सर तथा रियर भ्यू–क्यामरा जडान गरिएको छ । यसका अलवा इलेक्ट्रीक पार्किङ्ग ब्रेक विथ अटो होल्ड, प्याडल सिफ्ट, क्रूज कन्ट्रोल दिइएको छ । यसको फ्रन्टमा म्याक पियर्सन स्ट्रक सस्पेन्सन लगाइएको छ भने रियरमा इन्–डिपेन्डेन्ट मल्टी–लिङ्क उपलब्ध छ । यसको फ्रन्ट र रियरमा भेन्टीलेटेड डिस्क–ब्रेक लगाइएको छ भने दुबै साइडमा १८ इन्चको एलोए–ह्वील जडान गरिएको छ । यो एसयूभीलाई ग्लोबल एनक्याप र अस्ट्रेलियन एनक्यापले सुरक्षाका लागि फाइभ–स्टार रेटिङ्गसमेत प्रदान गरेको छ । 

जीप कम्पास लिमिटेड अप्सनमा यात्रु तथा ड्राइभर सुरक्षाका लागि सिक्स–एयरब्यागको प्रयोग गरिएको छ । एबीएस, इलेक्ट्रीक ब्रेक–फोर्स डिस्ट्रीब्यूसन, ब्रेक एसिस्ट, हिल एसिस्ट, इलेक्ट्रीक स्ट्याबिलिटी प्रोगाम, ट्र्याक्सन कन्ट्रोल, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी–लक, पावर डोर–लक, कर्नरिङ्ग लाइट, ओआरभीएममा टर्न इन्डिकेटर, रियर वाईपर र हेड ल्याम्प बीम एड्जस्टरजस्ता सुरक्षा फिचर रहेका छन् । साथै, हिँड्न सजिलो होस् भन्ने हिसाबले एभरेज फ्यूल इफिसेन्सी इन्डिकेटर, सिट–बेल्ट वार्निङ्ग, लो–फ्यूल वार्निङ्गजस्ता फिरको सुविधा जीप कम्पासमा पाउन सकिन्छ । 

भारत कनेक्सन

जीपले २०१६ को अन्त्यबाट भारतीय बजारमा कम्पासको उत्पादन सुरु गरेको हो । फियाट क्रिस्लर मोट्र्सले भारतीय बजारमा बनाएको जीप कम्पास करिब ३० हजार युनिट भारतमा र १० हजार युनिट निर्यात गरिसकेको जनाएको छ । 

एमजी मोट्र्सले आफ्नो व्यावसायिक क्रियाकलापलाई भारतीय बजारमा भर्खर सुरु गरेको छ । कम्पनीले जनरल मोट्र्स इन्डियाको प्लान्ट किनेर त्यहाँबाट एमजी ब्रान्डका गाडी उत्पादन गर्ने अन्तिम तयारी चलिरहेको जानकारी दिएको छ । भारतमा करिब ४६ डिलर नेटवर्क र २ सय टच–पोइन्ट निर्माण गरी अगाडि बढेको एमजीले २०१९ बाट भारतमा उत्पादन सुरु गर्नेछ । 

मूल्य 

नेपाली बजारमा एमजी २.० एलयूएक्स (लग्जरी) को मूल्य ८१ लाख ५० हजार रुपैयाँ रहेको छ भने १.५ लिटर कम (कम्प्याक) को मूल्य ७० लाख ९० हजार रुपैयाँ रहेको छ । 

नेपाली बजारमा जीप कम्पास पेट्रोल भेरिएन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँदेखि टप भेरिएन्टको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ । ब्ल्याक प्याक पेट्रोल एडिसको मूल्य भने ९० लाख ९० हजार रुपैयाँ रहेको छ । 

निस्कर्ष

अमेरिकन र बेलायती ब्रान्डबीचको नेपाली बजारमा हुने प्रतिस्पर्धा तगडा रहेको छ । फिचरका हिसाबले दुबै एसयूभी समानजस्तै देखिए पनि इन्जिन पावर र सेफ्टी फिचरका हिसाबले एमजी–जीएस अब्बल देखिन्छ भने जीपको आफ्नै लिगेसी निकै दह्रो रहेको छ ।

दुबै कम्पनीले आफ्नो उत्पादनलाई रिजनेवल, स्टाईलिस र सुरक्षित बनाउन कुनै कसर बाँकी राखेका छैनन् । तर, जुन मूल्यमा एमजीले जीएसमा फिचर लोड गरेको छ, त्यो एसयूभी पारखीलाई लोभ्याउन सक्नेछ । अब तपाईं छनोट गर्न सक्नुहुन्छ, तपाईंलाई चाहिएको गाडी कस्तो हो ।


Back_to_top