नयाँ बर्षमा नयाँ फाईटः निशान-किक्स VS हुन्डाई-क्रेटा

निशानले २०१९ को जनवरी १९ मा आफ्नो नयाँ एसयूभी–किक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले भारतीय बजारमा निशान टेरानोको असफलतापछि नयाँ कम्प्याक एसयूभी ‘निशान–किक्स’ को बिक्री–वितरण सुरु गर्न लागेको हो । 

करिब एक महिना अगाडि मुम्बाईमा एक कार्यक्रम आयोजना गर्दै मिडिया सार्वजनिक गरिएको किक्सले हुन्डाईको चर्चित एसयूभी–क्रेटासँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । किक्सको आगमनले पछिल्लो दिनमा क्रेटाको चर्चासमेत निकै बढेको छ ।

समान प्रकारका विशेषताको कारण यी दुई मोडलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको हो । विभिन्न सञ्चारमाध्यमले तयार गरेको रिपोर्टअनुसार यी दुई मोडलको बीचमा रहेका तुलनात्मक भिन्नता यस्तो रहेको छ ।

नेपालमा निशानको आधिकारीक बिक्रेता पायोनियर मोटर्सले किक्सलाई भारतमा सार्वजनिक भएको केही समयमा नै नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । भने यो सेग्मेन्टमा नेपाली बजारमा क्रेटालाई टक्कर दिन सक्ने अर्को मोडल अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।  

माइलेज

प्रारम्भिक रिपोर्ट अनुसार माइलेजको हिसाबमा निशान–किक्सभन्दा हुन्डाई–क्रेटा अगाडि देखिएको छ । पेट्रोल भेरियन्टअन्तर्गत हुन्डाई–क्रेटाले प्रतिलिटर १५.३ किलोमिटरको माइलेज प्रदान गर्छ भने डिजेल भेरियन्टले प्रतिलिटर २१.४ किलोमिटर माइलेज प्रदान गर्छ । 

निशान–किक्सको पेट्रोल भेरियन्टले प्रतिलिटर १३ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । किक्सको डिजेल भेरियन्टले प्रतिलिटर २० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

डायमेन्सन

निशान–किकको लम्बाई ४३८४ एमएम, चौडाई १८१३ एमएम र उचाई १६५६ एमएम रहेको छ । यसमा २६७३ एमएम ह्वीलबेश दिइएको छ । 

हुन्डाई–क्रेटाको लम्बाई ४२७० एमएम, चौडाई १७८० एमएम र उचाई १६३० एमएम रहेको छ । यसमा २५९० एमएमको ह्वीलबेश रहेको छ । दुबै कारको सिट क्षमता समान रहेको छ । यी कारमा ५ जनासम्म प्यासेन्जरले आरामदायी यात्रा गर्न सक्नेछन् । 

विशेषता

हुन्डाई–क्रेटा र निशान–किक्समा समावेश अधिकांश विशेषतामा समेत समानता देखिएको छ । दुबै मोडलमा रियर एसी–भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हाइट एड्जस्टेबल ड्राइभर–सिट, पावर ओपरेट ओआरभीएम, ब्लू–टुथ कनेक्टिभिटी, एप्पल कार–प्ले, एन्ड्रोइड अटो नेभिगेसन सिस्टम, रियर वाइपर र वासर, पुस स्टार्ट–बटमलगायतका विशेषता दिइएको छ । 

सुरक्षा

ड्राइभर तथा प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै निशान–किक्स र क्रेटा दुबै मोडलमा डबल–फ्रन्ट एयरब्याग, एबीएस र ईबीडी, रियर पार्किङ्ग क्यामेरा, रियर डिफोगर लगाइएको छ । हुन्डाई–क्रेटामा उपलब्ध स्पीड सेन्सिङ्ग अटो डोर–लकको विशेषता भने निशान–किक्समा उपलब्ध छैन । 

त्यस्तै, दुबै मोडलमा आईएओ–फिक्स, रिभर्स पार्किङ्ग सेन्सर, डे–नाइट आरभीएमलगायतका विशेषता उपलब्ध छन् । 

मूल्य 

निशान–किक्स र हुन्डाई–क्रेटाको मूल्यमा पनि केही हदसम्म समानता देख्न सकिन्छ । किक्सको भारतीय बजारमा १० लाखदेखि १६ लाख भारतीय रुपैयाँ तोकिएको छ भने, हुन्डाई–क्रेटाको मूल्य ९ लाख २९ हजारदेखि १४ लाख ८६ हजार भारतीय रुपैयाँ तोकिएको छ । सोही अनुरुप नेपाली बजारमा पनि मूल्य निर्धारण हुने हुँदा किक्सको तुलनामा क्रेटाको मूल्य कम हुनेछ । 


Back_to_top