काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाल ल्याएको टाटाको नयाँ ईभी पन्च अहिले बजारमा सर्वाधिक चर्चा भइरहेको मध्ये एक मोडल हो । एसयूभी डिजाइन र फिचर लोडेड गाडी नै ३५ लाखभन्दा कम मूल्यमा पाउन थालेसँगै चर्चा बढ्न थालेको हो ।
टाटाले पहिलो पटक ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्चका विषयमा धेरै किसिमका रिभ्यूहरु बजारमा आउन थालिसकेको छन् । बजारमा २०० यूनिट माथि गाडी गइरसकेको कारण धेरै युजरहरुको अनुभव पनि आउन थालिसकेको छ । यस्तोमा मेरोअटो टीमले पनि तीन दिन यसलाई चलाएर हेरेको थियो ।
हाम्रो अनुभवका आधारमा पन्च धेरै किसिमका फेन्सी कारहरु माथि भारी पर्ने पक्का छ । ट्रेडिसनल डिजाइन, आकर्षक फिचर र बहुउपयोगी बडीले पन्चलाई उपभोक्तालाई फाइदा प्रदान गर्न सक्छ ।

त्यसमा बलियो र सुरक्षीत गाडी बनाउने टाटाको प्रतिवद्धतालाई पन्च ईभीले नेक्ट लेभलमा लगेको छ । किनकी पन्च चाइल्ड र एडल्ट प्यासेन्जर दुबैको सुरक्षामा ५ स्टार क्र्यास टेष्ट सेफ्टी रेटिङ पाउन सफल मोडल हो ।
तीन दिन चलाएर हेर्दा
पन्च साँचै प्रतिस्पर्धीको लागि दह्रो पन्च हो । साथै, यसको ड्राइभिङ प्लेजर अहिले बजारमा उपलब्ध अन्य प्रतिस्पर्धीभन्दा केही कमी छैन । अझ एसयूभी डिजाइन र १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले ठिकठाकको अफरोडमा सहजै चलाउन सकिन्छ ।

हामीले तीन दिनमा यसलाई अफरोड, अनरोड, उकालो, ओराले र समथर सबै किसिमका भूभागमा चलायौं । हामीले टेष्ट ड्राइभ गरेको पन्चमा ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर थियो । सानो ब्याट्री र ठूलो मोटरको कम्बीनेसनले २६० किलोमिटर रेन्ज प्रदान गरेको थियो ।

यसको ‘रिजेनेरेटीभ ब्रेकिङ सिस्टम’ पनि निकै पावरफुल छ । राम्रै ओरालो छ र लेभल ३ मा रिजेन गरिएको छ भने १.५ किलोमिटर चलाउँदा १ प्रतिशत रिचार्ज हुन्छ । ठाडो उकालो १ किलोमिटर यात्रा गर्न लगभग १ प्रतिशत चार्ज खर्च हुन्छ ।

एसयूभी ड्राइभिङको अनुभव दिलाउन सक्ने पन्चमा दिइएको भेन्टीलेटेड सिट, ३६० डिग्री क्यामेराको इमेज क्वालिटी, सेन्सरहरुको प्रयोग, डिजिटल बटमहरुको प्रयोगले गाडीको इन्फोटेन्टमेन्ट सिस्टमको प्रयोगलाई घटाएर चालकमैत्री बनाएको छ ।

सनरुफ चाहिनेले सानै भएपनि सनरुफ प्रयोग गर्न पाउँछन् । त्यो पनि भ्वाइस कमाण्डबाटै प्रयोग गर्न मिल्ने छ । हल्का हिन्दी टोन वा सनरुफलाई स्ट्रेस दिएर कमाउन्ड गर्ने हो भने सहजै खोल्ने र बन्द गर्न सकिन्छ ।



