काठमाडौं । बजारमा विद्युतीय कारमा दर्जनौ छनोट उपलब्ध हुन थालेका छन् । चीनबाट आयात हुने इलेक्ट्रीक मोडल पर्फर्मेन्सको हिसावले उत्कृष्ट हुन थालेका हुन् ।
सरकारी कर नीतिको कारण कम मोटर क्षमता भएका गाडीमा कम कर लाग्ने हुँदा सुरुमा आएका धेरै मोडलहरु मोटर पावर घटाएर ल्याइयो । तर, अब बिस्तारै ठूला मोटर पावरमा पनि विद्युतीय गाडी नेपाल आउन थालेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल आएका एक्सपेङ जी-६, लीप सी-१० र जिकर एक्स मोटर पावर नघटाइ नेपाल ल्याइएको मोडल हुन् । यी तीन मोडल मध्ये एक्सपेङ जी-६ र जिकर एक्स एकअर्काका प्रतिस्पर्धी मोडल हुन् । लीप मोटरको सी-१० भने ठूलो र बल्की डिजाइन एसयूभी हो ।

मूल्यको हिसावले ६९ लाखदेखि ८५ लाखसम्म पर्ने यी गाडी फिचर लोडेड छन् । यी गाडीको हाम्रो बजारको लागि सबैभन्दा ठूलो विशेषता भनेकै मोटर पावर हो । मूल्य र मोटर पावरको संयोजन भएको कारण यी गाडी उत्कृष्ट पर्फर्मेन्स गर्न सक्ने किसिमका छन् ।
कुनमा कत्रो छ मोटर ?
पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर एक्स मोडलमा २०० किलोवाटको रियर ह्वील मोटर दिइएको छ । निकै ठूलो मोटरमा उपलब्ध जिकर एक्स मूल्य अनुसार पावरफुल कार हो ।

एक्सपेङ जी-६ मा १९० किलोवाट आवरको मोटर रहेको छ । यसमा पनि रियर ह्वील मोटर पाउन सकिन्छ ।
लीप मोटरको सी-१० एसयूभीमा १६० किलोवाटको मोटर रहेको छ । यसको पावर पनि राम्रो मानिन्छ ।
मूल्य
यी तीन मध्ये एक्सपेङ जी-६ सबैभन्दा महंगो छ । यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ छ । दोस्रो महंगो मोडल जिकर एक्स हो । यसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यी तीन मध्ये सबैभन्दा सस्तो मोडल लीप मोटर्सको सी-१० हो । यसको मूल्य ६७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

