आयो महिन्द्रा ‘बीई-६ई’, २०७ एमएम ग्राउण्ड क्लियरेन्स, यस्तो छ मूल्य

काठमाडौं । महिन्द्राले बीई-६ई इलेक्ट्रीक कुप्पे एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले हिजो एक कार्यक्रम आयोजना गरेर नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याएको हो ।

निकै सार्प लुक्समा देखिएको बीई-६ ई मोडल दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । जसमा ५९ र ७९ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । एआरएआईका अनुसार महिन्द्रा बीई-६ईले सिंगल चार्जमा ६८२ किलोमिटरसम्म रेन्ज दिनेछ ।

महिन्द्राका अनुसार बीई-६ ई इलेक्ट्रीक भर्सनमा मात्रै उपलब्ध हुनेछ । फ्लस डोर ह्याण्डल, बडीमा प्रसस्तै एजहरुको प्रयोग र एलइडी लाइटको ब्यापक प्रयोग भएको नयाँ एसयूभीको सुरुवाती मूल्य १८ लाख ९० हजार भारतीय रुपैयाँ कायम गरिएको छ । त्यो भनेको एक्सयूभी ४०० को टप भेरियन्ट हाराहारी नै हो ।

साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई-६ईको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ र २० इन्चको ह्वील अप्सन दिएको छ ।

२०७ एमएम अग्लो उच्च ग्राउन्ड क्लियरेन्स भएको बीई-६ईमा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ । यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्यूल स्कृनको कम्बीनेश उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरु इनब्यूल्ट छन् ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तिब्र गतिमा चलाउन मिल्छ । फ्ल्याटवटम स्टेरिङ ह्वील, एयरक्र्फ्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।

हर्मन कार्डनको १६ स्पीकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बीयन्ट लाइट, ५ जी कनेक्टीभीटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचरले यसलाई एक अब्बल एसयूभी बनाएको छ ।

महिन्द्राले बीई-६ ई एसयूभीमा लिथियम आइरन फस्फेट ब्याट्री दिएको हो । यो ब्याट्री बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित छ । यसमा रहेको ५९ किलोवाट आवरको ब्याट्रीसँग १७० किलोवाटको मोटर छ ।

कम्पनीले लङ रेन्ज भर्सनमा दिएको ७९ किलोवाट आवरको ब्याट्रीसँग २१० किलोवाटको मोटर छ । दुबै भर्सनको टर्क भने समान ३८० एनएम छ । कम्पनीले ड्राइभिङ मोडको नाम रेन्ज, इभ्रीडे र रेस दिएको छ । लङ रेन्ज भर्सनले ५५० किमी डब्लूएलटीपी रेन्ज दिने बताइएको छ । महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो ।


Back_to_top