काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा चार पाङ्ग्रे विद्युतीय साधन आयातमा कडा टक्कर देखिएको छ । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ र बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालि बीच को पहिलो बन्ने भन्ने दौड सुरु भएको हो ।
अघिल्लो आर्थिक वर्षको आयातमा पहिलो बनेको बीवाइडीलाई चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा टाटाले जितेको छ । टाटाले आफ्नो नयाँ ईभी पन्च र ट्याक्सीको रुपमा बिक्री हुँदै आएको टिगोर ईभीको सहायताले सबैभन्दा धेरै आयात गर्न सफल भएको हो ।
कार्तिक महिनामा सिप्रदीले २२० यूनिट कार आयात गरेको छ । उसले समग्रमा साउनदेखि कार्तिक मसान्तसम्ममा ८७७ यूनिट कार आयात गरेको हो ।
उता बीवाइडीले पनि ८५६ यूनिट कार आयात गरेको छ । साइमेक्स इंक प्रालिले कार्तिकमा १ युनिट सील सेडान, ७५ युनिट डल्फीन ह्याचब्याक र ११० यनिट एटो थ्रीको सुपेरियर भेरियन्ट आयात गरेको छ । कम्पनीले कार्तिकमा १८६ यूनिट ईभी ल्याएको हो ।

चालु आर्थिक वर्षको चार महिनामा ओमोडा/जेको ब्राण्डले ३४० यूनिट कार ल्याएको छ । जसमा ओमोडा १८७ युनिट र जेको १५३ युनिट छ । कार्तिकमा भने कम्पनीले ७३ युनिट गाडी छुटाएको हो । जसमा ६५ युनिट जेको जे–६ रहेको देखिन्छ ।
दीपलले कार्तिकमा २२ युनिट एस–०७ मोडल नेपाल ल्याएको छ । योसँगै कम्पनीले साउनदेखि कार्तिक मसान्तसम्ममा ३०१ युनिट विद्युतीय साधन नेपाल ल्याएको हो ।
भर्खरै नेपालमा बिक्री सुरु भएको नामी बक्स मोडल कार्तिकमा मात्रै १७५ युनिट आयात भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा २०१ यूनिट नामी ईभी नेपाल ल्याएको देखिन्छ ।

नेटा ब्राण्डको आयात पनि यस अवधिमा राम्रो देखिन्छ । सिजी मोटर्सले कार्तिकमा ६२ यूनिट कार आयात गरेको छ । समग्रमा चार महिनामा १७८ यूनिट नेटा ब्राण्डका भी र एक्स मोडल आयात भएका छन् । कार्तिकमा ३८ यूनिट नेटा एक्स आयात भएको हो ।
एमजीले कार्तिकमा कुनै पनि मोडल ल्याएको छैन । उसले चालु आर्थिक वर्षको चार महिनामा १०८ यूनिट कार आयात गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा लीप मोटर्सको सी–१० एसयूभी ४६ युनिट, केई ब्राण्डले चार महिनामा २८ युनिट, जेएमसीको ईभी इजी २० यूनिट, डायुन ७५ युनिट, अवतार ४० युनिट, एक्सपेङ २९ युनिट, स्काइवेल बीई११ मोडल ७ युनिट, भोल्टस् २५ युनिट, रेडारा पीकअप ५३ युनिट आयात भएको छ ।
त्यसैगरी जिकर एक्स २७ युनिट, जीडब्लूएम ओरा-०३ मोडल २० युनिट, टेस्ला २ युनिट, अउडी १ युनिट, सेरेर मिनी ईभी २ युनिट, लिंकटुर १ युनिट, ब्रम्बी २ युनिट, हाउजी १ युनिट, स्मार्ट ४ युनिट र एलइभी १ यूनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।


