काठमाडौं । टोयोटाले आफ्नो पहिलो भारतमा उत्पादन हुने ईभी बेल्जीयममा सार्वजनिक गरेको छ । युरोपियन बजारमा पनि भारतबाटै उत्पादन गरेर लाने योजना बनाएको कम्पनीले ‘अर्वान क्रुजर’ नामबाट यसलाई बजारमा ल्याउने भएको हो ।
सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरेको यो ईभी भारतमा उत्पादन हुने र नेपाल पनि आउने मोडल हो । तीन फरक मोटर पावरमा आउने अर्वान क्रुजर मोडलमा १०६, १२८ र १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ ।
नेपाल सरकारले तोकेको कर अनुसार जुन मोटरमा ल्याएपनि एउटै दरको कर लाग्ने भएको कारण अर्वान क्रुजरको अल ह्वील ड्राइभ भर्सन नेपालको लागि उपयुक्त मोडल हुने अनुमान गर्न सकिन्छ । अल ह्वील ड्राइभ भर्सनमा ६१ किलोवाट आवरको ब्याट्री र १३५ किलोवाटको मोटर रहनेछ । यसको अधिकतम टर्क ३०० एनएम रहने छ ।
अन्य दुई भेरियन्ट फ्रन्ट ह्वील ड्राइभमा आउने छ । सर्ट रेन्ज भर्सनमा ४९ किलोवाट आवरको ब्याट्रीकाे साथमा १०६ किलोवाटको मोटर छ, त्यसले १८९ एनएम टर्क प्रदान गर्छ । साथै, अर्को लङ रेन्ज भेरियन्टमा ६१ किलोवाट आवरको ब्याट्री र १२८ किलोवाटको मोटर छ । यसको टर्क पनि १८९ एनएम हुने कम्पनीले जानकारी दिएको छ ।

डाउन हिल एसिस्ट कन्ट्रोल, ट्रायल मोड, स्नो मोडसमेत उपलब्ध कारमा अल ह्वील ड्राइभ भर्सनको पछाडि ४८ किलोवाटको मोटर दिइएको छ ।
टोयोटाले अर्वान क्रुजर ईभीमा पछिल्ला दिनमा विकास भएका सबै किसिमका सुरक्षा फिचर दिने जनाएको छ । एडास फिचर, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर अलर्ट, लेन कीप एसिस्ट, ३६० डिग्री क्यामेरा दिनेछ ।

यसको ड्यास बोर्डमा १०.२५ र १०.१ इन्चको दुई स्कृन रहने छन् । टोयोटाको होमचार्ज बक्ससँगै आउने गाडीमा माइ टोयोटा एप पनि उपलब्ध हुनेछ । जेबीएलको प्रिमियम साउन्ड सिस्टम र भिजन रुफ रहने अर्वान क्रुजर एक उत्कृष्ट इलेक्ट्रीक एसयूभी हुने टोयोटाको दावी छ ।

