हुन्डाईका ईभी चढ्नेले समस्या भोग्नु पर्दैन : दीपक थपलिया

काठमाडौं । विश्व अटोमोबाइल बजार भन्ने बित्तिकै गाडी बनाउने र बिक्री गर्ने थलो मात्रै होइन । पूरै अर्थतन्त्रको इकोसिस्टममा भित्र यसलाई भेटाउन सकिन्छ । यसबाट नेपाल फरक हुन सक्दैन । नेपालको प्यासेन्जर कार बजार निकै डाइनामिक छ । त्यो कसरी भने अधिकांश देशका अटोमोबाइल बजार ‘अनप्रिडेक्टेबल’ छैन । तर, नेपालको बजार भने अनुमान नै लगाउन नसकिने किसिमको छ ।

देशको आर्थिक वृद्धिदर, समाजिक कारण जस्ता कुराले बजारमा केही फरक पर्नु स्वभाविक हो । तर, अघिल्लो वर्ष के हुन्छ भन्ने ठ्याक्कै अनुमान नै लगाउन नसकिने बजार हाम्रो छ । हाम्रो चारपाँग्रे अटोमोबाइल बजार कहिले एक वर्ष नै २१ हजार युनिट पुग्छ, फेरि लगत्तै अर्को वर्ष घटेर ७/८ हजारमा झर्छ । यसले बजार के कारण यति धेरै तलमाथि भयो भनेर आँकलन नै गर्न सकिँदैन ।

अहिले हाम्रो अर्थतन्त्र बलियो भएर ईभी किन्ने बढेका होइनन् । सरकारको नीतिले ईभी किन्न प्रेरित गरेको हो ।

नेपालले पछिल्ला वर्षमा इन्धन आयात कन्ट्रोल गर्ने उपायहरूको खोजी भइरहेको छ । त्यसकै एउटा हिस्साको रुपमा विद्यूतीय साधन आयात गर्ने परिकल्पना भयो । पेट्रोल कारको तुलनामा असाध्यै कम कर लगाएर ईभीको आयात सुरू भयो । कर कम लगाएकै कारण ईभी मार्केट ग्रोथ भयो । अहिले पनि समग्र गाडी बिक्रीको संख्या बढ्न नसक्नु तर, ईभी मात्रै आयात भएर राम्रोसँग बिक्री हुनुले कर कम भएकै कारण ईभीको बिक्री बढेको पुष्टि हुन्छ ।

अहिले गाडी बिक्री गर्ने ब्राण्डको संख्या पनि बढ्दै गएको छ । बजार साइज बढेको छैन । यसले के देखाउँछ भने हाम्रो अर्थतन्त्र बलियो भएर ईभी किन्ने बढेका होइनन् । सरकारको नीतिले ईभी किन्न प्रेरित गरेको हो ।

दीपक थपलिया, जनरल मेनेजर, लक्ष्मी इन्टरकन्टिनेन्टल

बजारमा बढ्दो ब्राण्डसँगै बजारमा समस्याहरू पनि थपिन थालेका छन् । हुन्डाई नेपालमा सबैभन्दा अग्रणी कार ब्राण्ड हो । हामीले नेपालमा ईभीको बजारको लाइन नै कोरेका हौं । त्यति बेला हमीले ईभी चढ्ने टार्गेट ग्रुप माथिल्लो आम्दानी भएका मानिस नै हुन् भनेर स्थापित गरेका थियौं । बजारमा ५ देखि १० प्रतिशत ईभीको हिस्सा हुनुपर्छ भन्ने योजना बनाएर त्यही अनुसार काम गरेका थियौं ।

अहिले बजारमा चलिरहेको ईभीका पार्टपुजाहरू महँगो भन्ने चर्चा हामीले पहिल्यै सोचेका हौं । अहिले बिग्रिएको खण्डमा बनाउँदा पनि महँगो पर्ने भएका कारण हामी सचेत थियौं । पछि फरक कर निर्धारण भएपछि हाम्रो बाटो अलग भयो । अन्य ब्राण्डहरूले कम मूल्यमा गाडी बिक्री गर्न सक्नेगरी ल्याउन सफल भए । हुन्डाईसँग प्रोडक्ट लाइन भएन ।

यहाँ उपभोक्ताले पनि बुझ्नुपर्ने कुरा के हो भने एउटा विद्युतीय गाडीमा ब्याट्रीको लागत र त्यसको मर्मत जस्ता कुरामा कति खर्च हुन्छ भन्ने हो ।

धेरै प्लेयर र मोडलमा पनि प्रतिस्पर्धा बढेसँगै त्यसले ईभीमा समग्र बजारलाई सिफ्ट गर्न सक्यो । उपभोक्ता आफैँ पनि जागरुक हुनुपर्छ । यसो भन्दैमा मैले फर्केर पेट्रोलमा जानु पर्छ भनेको होइन । हिजो नेपालमा नाकाबन्दीको कारण ईभीमा जान धेरैलाई प्रेरित गर्यो । अब ईभी नै हाम्रो बजारको मुख्य हिस्सा हुने भएपछि गाडी किनेपछि ढुक्कसँग सेवा उपभोग गर्ने वातावरण हुनुपर्छ । त्यसको लागि हुन्डाई सदैव तयार छ । हामी समस्यारहित सेवा दिन तयार भएका छौं ।

यहाँ उपभोक्ताले पनि बुझ्नुपर्ने कुरा के हो भने एउटा विद्युतीय गाडीमा ब्याट्रीको लागत र त्यसको मर्मत जस्ता कुरामा कति खर्च हुन्छ भन्ने हो । हाम्रो अनुभवमा गाडीको मूल्यमा आधा रकम ब्याट्रीसँग जोडिएर आउँछ । लामो समय पानीमा रहेका विद्युतीय गाडीका विषयमा पनि धेरै कुरा छन् । मोटरदेखि लुकिङ ग्लाससम्मका सामान ईभीमा महँगो छ । यदि, पानीमा डुब्ने हो भने त यसको मेन्टिनेन्स महँगो पर्छ नै । यदि, यी कुरा बुझेर ईभी किन्ने हो भने उपभोक्ता दुःख पाउने छैनन् ।

अर्को विषय स्पेयर पार्टस् र म्यानपावर अहिले बजारको सबैभन्दा ठूलो समस्या हो । सर्भिसको लागि चाहिने म्यानपावर अत्यन्त कम छ । यहाँ इन्जिनियरको प्रयोग अटो क्षेत्रमा गराउन सकेका छैनौं । टेक्निसियनलाई ट्रेनिङ दिएर इन्जिनियरको काम गर्न सक्ने बनाउनु पर्नेछ । दोस्रो बजारमा स्पेयर पार्टस् छैन । ईभी बनाउने म्यानपावर तयार गर्नु पर्छ । रातारात यस्ता जनशक्ति तयार गर्न सक्ने कुरा हुँदैन । नेपालमै काम गरेर गाडी चढ्न सक्ने बन्छौं भनेर इन्जिनियर राख्न सक्ने अवस्था बन्नुपर्छ । हरेक टेक्निसियनले ईभी बनाउन सक्ने गरी तयारी थाल्नुपर्छ ।

अझ पनि हामी बिजनेश मोडल बनाएर नै डीसी चार्जर लगाउनुपर्छ भन्ने मान्यतामा छौं ।

हाम्रो ध्यान ब्याट्रीमा रहेको खर्च घटाउन कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छ । लक्ष्मी हुन्डाईले पुराना ब्याट्रीबाट केही रिर्टन उपभोक्तालाई दिन सकियो भने उसको सर्भिसमा लाग्ने खर्च कम गर्न सकिन्छ भनेर काम गर्दैछ ।

ईभी चढ्ने उपभोक्ताले सर्वाधिक माग रहने चार्जिङ नेटवर्क सम्बन्धमा हाम्रो पहिलेदेखि नै पृथक धारणा थियो । सन् २०१८ देखि हामीले एसी चार्जर राख्न सुरू गरेका थियौं । त्यसपछि अन्य ब्राण्ड आउन थालेसँगै विस्तारै बजारमा डीसी चार्जर बन्न थाले । हामीले सुरूदेखि डीसी चार्जर बिजनेश मोडल बन्न सक्दैन भनेका हौं । त्यसमा धेरैले हामीलाई डीसी चार्जरको विरोधी जस्तो मान्न सक्छन् । अझ पनि हामी बिजनेश मोडल बनाएर नै डीसी चार्जर लगाउनुपर्छ भन्ने मान्यतामा छौं । तर, गाडी किन्नेले बजारमा डीसी चार्जर कति छन् भन्ने प्रश्न आउन थालेको छ । त्यसमा हामी चुप लागेर बस्ने अवस्था रहेन । त्यसैले ‘चार्जशप’को कन्सेप्टमा काम गर्दैछौं । जहाँ गाडी चार्जिङ सुविधासँगै सानो सर्भिस सेन्टर पनि बनाउने योजना तयार गरेका छौं ।

क्रेटा ईभी बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अब हाम्रो ध्यान डीसी चार्जर निर्माण गर्नेतर्फ छ । अहिले ५ स्थानमा चार्जशप निर्माण चलिरहेको छ । अन्य २० देखि २५ स्थानमा डीसी चार्जर राख्दैछौं । पूवार्धारसहित मार्च १५ भित्र क्रेटा ईभी बजारमा गुड्न थाल्नेछ ।


Back_to_top