काठमाडौं । सन् २०२५ को मार्चमा नेपाली बजारमा तीन नयाँ मोडलका ईभी बजारमा आएका छन् । मार्चमा लिप मोटर्सको टी ०३, एलईभी ०१ र एमजी एस-५ ईभी लन्च भएका हुन् ।
यही महिना भित्रै थप नयाँ मोडलको रूपमा प्रोटोन इमास-७ र हुन्डाई क्रेटा ईभीको बिक्री सुरू हुनेछ ।
यसअघि मार्च ६ तारिखबाट बिक्री सुरू भएको एमजी एस-५ ईभीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएसँगै नयाँ आउने मोडलको मूल्य कायम गर्न दबाब पर्ने देखिन्छ ।
बजारमा मार्च २१ तारिखमा आउने इमास-७ र त्यही साता आउने हुन्डाई क्रेटा ईभीले राख्ने मूल्यसँगै ईभी बजारमा थप रोचक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
प्रोटोन इमास-७ जिली ग्रुपको ग्यालेक्सी ई-५ लाई प्रोटोनको लोगो दिएर ल्याइएको मोडल हो । यसमा रहेका सम्पूर्ण फिचर नेपाली बाटो सुहाउँदो पाउन सकिने छ । दुई ब्याट्री अप्सनमा उपलब्ध हुने इमास-७ मा ९९ किलोवाटको एउटा मात्रै मोटर रहनेछ ।
४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध हुने इमास-७ मूल्यका हिसावले ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गर्दैछ ।

हुन्डाई क्रेटा पनि दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको सर्ट रेन्ज मोडलमा ४२ र टप भेरियन्टमा ५१.४ किलोवाट आवरको ब्याट्री साइज रहनेछ । यसलाई कम्पनीले ९९ र १२६ किलोवाट क्षमताको दुई फरक मोटर साइजमा उपलब्ध गराउने छ ।
हुन्डाईको आधिकारिक बिक्रेताले अहिलेसम्म क्रेटा ईभीको मूल्य बाहिर ल्याएको छैन । यसको मूल्य सम्भवत ५० देखि ६५ लाख रुपैयाँ भित्रै रहनेछ ।
अप्रिलमा थपिँदै दुई नयाँ मोडल
मार्चमा ५ नयाँ मोडल बजार प्रवेश गरेकोमा अप्रिलमा दुई नयाँ मोडल आउने पक्का पक्की जस्तै देखिएको छ । मार्चमा बीवाइडीले सिलायन–७ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने छ । त्यही समयमा दीपलले एस-०५ पनि नेपाल ल्याएर बिक्री सुरू गर्नेछ ।
बजारमा आउने नयाँ मोडलहरूलाई मूल्य प्रतिस्पर्धी बनाउन निकै कसरत गर्नु पर्ने अवस्था सृजना भएको छ । यस्तोमा बजारमा हुने नयाँ प्रतिस्पर्धाको फाइदा उपभोक्ताले कति पाउँछन्, त्यो हेर्न भने बाँकी नै छ ।


