काठमाडौं । नेपाल सरकारले विद्युतीय कारमा मोटरको पीक पावरलाई आधार बनाएर कर लगाउँदै आएको छ । मोटर पावरमा कर लाग्ने भएको कारण पावर नै घटाएर कम्पनीहरुले गाडी उपलब्ध गराउँदै आएका छन् ।
चीनमा बिक्री हुँदै आएको मोडलमा भएको मोटर पावर र नेपालमा उपलब्ध गराएको मोटर पावरमा ठूलो भिन्नता रहेको छ । बीवाइडीको सर्वाधिक सफल मोडल एटो–३, दीपलको सफल मोडल एस–०७ र जीएसी एवोन भी मोटर पावर घटाएर उपलब्ध गराइएका एसयूभी हुन् ।
बीवाइडीको एटो–३ मा १५० किलोवाटको मोटर थियो । सुरुवाती दिनमा त्यहि १५० किलोवाटको मोटरमा नै एटो–०३ उपलब्ध थियो । पछि कम्पनीले यसलाई १०० किलोवाटको मोटरमा उपलब्ध गराएको हो ।
दीपलले सुरुवातमै ९९ किलोवाटको मोटरमा एस-०७ नेपाल ल्याएको हो । मोटर पावरको कारण मूल्य पनि केही कम भएसँगै यसले निकै राम्रो बिक्री पाउन सफल भयो । करिब दुई महिना अगाडि दीपलले एस-०७ एलआर नेपाल ल्यायो । यसमा भने १६० किलोवाट कै मोटर उपलब्ध थियो । महंगो मूल्य पर्दा उपभोक्ताले ९९ किलोवाट कै मोटरमा एस-०७ मनपराएको देखियो ।

सीजी मोटर्सले बिक्री गर्दै आएको एवोन भीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । जबकी चीनमा यसलाई ब्याट्री साइज अनुसार १५० र १६० किलोवाट क्षमताको मोटरमा उपलब्ध गराएको छ ।
ब्याट्री, रेन्ज र मूल्य
बीवाइडीले एटो–३ मा ४९ र ६० किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । कम्पनीले एड्भान्स भेरियन्टमा ४९ किलोवाट आवरको ब्याट्री दिएको हो । यसले ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
सुपेरियर भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री छ । यसले ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले देखाएको छ । यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकेर साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।

दीपल एस-०७ मा ६६.८ र ७९.९७ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसमा रहेको सानो ब्याट्रीले ४१० किलोमिटर रेन्ज दिनेछ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ठूलो ब्याट्री भएको एस-०७ लङ रेन्ज मोडलले सिंगल चार्जमा ४८० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एवोन भी पनि दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जीएसीले आफ्नो एवोन भी एसयूभीमा ६२.७ र ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ४०५ र ठूलो ब्याट्रीले ४८५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यी दुबै भेरियन्टको मूल्य क्रमशः ६४ लाख ९९ हजार र ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
साइज
दीपल एस-०७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६२५ एमएम छ । यसमा २९०० एमएम लामो ह्वीलवेस दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने १७५ एमएम अग्लो छ । कम्पनीले यसमा २० इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
लम्बाइको आधारमा एवोन भी पनि उत्कृष्ट देखिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध एवोन भीको लम्बाइ ४६०५ एमएम, चौडाइ १८५४ एमएम र उचाइ १६८६ एमएम अग्लो छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा पनि १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स र ह्वील साइज १९ इन्च रहेको छ ।

बीवाइडी एटो-३ को लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम छ । यसमा २७२० एमएम लामो ह्वीलवेस रहेको छ । यसको पनि ग्राउन्ड क्लियरेन्स १७५ एमएम नै छ । एटो-३ एसयूभीको भेरियन्ट अनुसार १७ र १८ इन्चको ह्वील दिइएको छ ।
अन्य फिचर
आधुनिक र मोर्डन फिचरले भरिपूर्ण यी तीनवटै एसयूभीमा अब्बल फिचरहरु पाउन सकिन्छ । तीन वटै एसयूभीमा एडास २.० सेफ्टी फिचर उपलब्ध छ । मोर्डन क्याविन, लग्जरी सिट र फिचर लोडेड क्याविन तीनवटै एसयूभीमा छन् । अझ एवोन भीमा मसाज सहितको हिटेड र भ्यान्टिलेटेड सिट पाउन सकिन्छ ।
दीपल एस-०७ मा एआर नेभिगेसन सहितको हेडअप डिस्प्ले, १५.६ इन्चको सनफ्लावर टचस्कृन, १४ वटा स्पीकर, मल्टी कलर डे टाइम रनिङ लाइट, जेक्सचर सपोर्ट, वायरलेस चार्जर पाउन सकिन्छ ।

एवोन भीमा सिटहरु लेदर छन् । म्युजिकको लागि १० वटा स्पीकर, ड्यूल जोन एसी, मल्टीकलर एम्बीयन्ट लाइट, ८.८ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ ।
बीवाइडी एटो–३ को इन्टेरियर धेरैले मनपराएका छन् । डाइनामिक ककपीट, लेदर सिट, स्पोर्टसबाट प्रेरित ड्यासवोर्ड, लेदर सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ५ इन्चको इन्ट्रुमेन्ट कन्सोल पाउन सकिन्छ ।
अन्त्यमा, यी तीनवटै एसयूभीको मूल्यमा फरक पाउन सकिन्छ । केही फिचरहरु ब्राण्ड अनुसार फरक छन् । तपाईले आफ्नो आवश्यकता अनुसार तीन मध्ये कुनै एक छनोट गरेर किन्न सक्नु हुन्छ । त्यसमा पनि मूल्यलाई ध्यानमा राखेर फिचर गरेको खण्डमा उपयुक्त मोडल छनोट हुनेछ ।


