पर्ल नदी किनारबाट उदाएकाे हाइटेक बीवाइडी, एनईभीमा ग्लोबल लिडर बन्दै

काठमाडौं । बीवाइडी अर्थात बिल्ड योर ड्रिम । सपनालाई साकार बनाउ । यो भाष्य चिनियाँँ आन्टरप्रेनर वाङ चियानफुले बनाएका हुन् । उनले ३० वर्ष अगाडि देखेको सपना अहिले साकार हुँदैछ ।

चियानफुले सन् १९९५ मा चीनको ग्वाङडोङ प्रान्तको पर्ल नदी किनारमा बनेको इमर्जिङ सिटी शेन्जेनमा देखेकोे सपना पूरा गर्न लामो संघर्ष गर्नु परेको थियो । शेन्जेनलाई २७ किलोमिटर पारीेको सहर हङकङको प्रतिस्पर्धीका रूपमा स्थापित गर्न चिनियाँ सरकाले धेरै टेक्नलोजी कम्पनीहरूलाई आमन्त्रण गरेको थियो ।

सन् १९८० मा ३० हजार जनसंख्या रहेको शेन्जेनमा हाल करिब १ करोड ८० लाख जनसंख्या बसोबास गर्छन् । शेन्जेनलाई अहिले ‘सिलिकन भ्याली अफ चाइना’ समेत भनिन्छ । शेन्जेन चीनको टेक्नोलोजीको राजधानी हो । शेन्जेनको यो पहिचान बन्नुमा चीनको तत्कालीन सर्वोच्च नेता देङ सियायोपिङको योगदान रहेको छ ।

उनले सन् १९८० मा शेन्जेनलाई विशेष आर्थिक क्षेत्र घोषणा गरे । त्यसपछि शेन्जेनमा विश्वका फर्चुन ५०० कम्पनी भित्र रहेका बीवाइडीसहित, ह्वावे, जेटटीई, टेनसेन्ट, डीजेआइ वानप्लस जस्ता कम्पनीहरू यहीँबाट उदाए ।

सेडानदेखि अफरोडसम्ममा नयाँ टेक्नलोजीको धमाका

शेन्जेनको टेक्नलोजी सहर बनाउने योजनामा बीवाइडीको पनि योगदान छ । बीवाइडीले शेन्जेनबाटै ग्लोबल न्यू इनर्जी भेहिकल लिडरको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । यसको पछाडि उसले विकास गरेको टेक्नोलोजी हो ।

पछिल्लो समय बीवाइडी टेक कम्पनीभन्दा पनि न्यू इनर्जी अटोमोबाइल कम्पनीका रूपमा चम्किएको छ । कम्पनीले अटोमोबाइलमा चार वटा विभिन्न फरक ब्राण्डका भेहिलकहरू उत्पादन गरिरहेको छ । यसले बीवाइडी, फेङचेङ बाओ, डेन्जा र याङवाङ ब्राण्डका सवारी उत्पादन गर्छ ।

कम्पनीले यी चार ब्राण्डका सवारी मार्फत सबै सेग्मेन्टका ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको हो । मास मार्केट ब्राण्डको रूपमा बीवाइडीकै नाममा फोर्कलिफ्ट, पर्सनल भेहिकल, कमर्शियल ट्रक, बस उत्पादन भइरहेका छन् । पर्सनल भेहिकल लाइनअपमा बीवाइडीले ओसियन र डाइनेस्टी सिरिजमा २ दर्जन बढी मोडलका कारहरू उत्पादन गरिरहेको छ ।

त्यस्तै, पफर्मेन्स अफरोड एसयूभी ब्राण्डको रूपमा फेङचेङ बाओ रहेको छ । कम्पनीले अफरोड भेहिलक खोज्नेका लागि अफरोड एसयूभीहरू बाओ ५ र बाओ ८ लन्च गरिसकेको छ । सन् २०२३ मा लन्च भएका यी एसयूभीहरू बडी अन फ्रेम प्ल्याटफर्म डीएमओ (ड्युल मोड अफरोड) सुपर हाइब्रिड सिस्टममा बनेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा डेन्जा ब्राण्डमा बिक्री हुने यो एसयूभीमा टर्बो चार्र्ज पेट्रोल इन्जिन, दुईवटा इलेक्ट्रीक मोटर तथा ३ वटा डिफ्रन्सियल लक रहेको छ । यो एसयूभीमा ३५ डिग्रीको अप्रोच एङ्गल र ३२ डिग्रीको डिपार्चर एङ्गल रहेको छ । बाओमा क्लाउड पी च्यासिस टेक्नलोजी रहेको छ । जसले आवश्यक पर्दा हाइट एड्जस्ट गर्न सकिने एक्टिभ सस्पेन्सन छ । यो एसयूभीमा अफरोडका लागि स्नो, स्याण्ड, मड, वेडिङ जस्ता मोड रहेको छ ।

कम्पनीले प्रिमियम लग्जरी भेहिकल ब्राण्डको रूपमा डेन्जा रहेको छ । डेन्जा सन् २०१० मा जर्मन अटोमोबाइल कम्पनी मर्सडिज बेन्जसँगको संयुक्त लगानीमा स्थापना भएको थियो । सन् २०२४ मा भने कम्पनीले डेन्जामा रहेको मर्सिडिजको सेयर खरिद गरी आफ्नो सब्सिडी ब्राण्ड बनाएको छ । यो ब्राण्डको डेन्जा जेड ९ जीटीमा रियर ह्वील स्टेरिङ सिस्टम तथा फ्रन्टमा सिंगल र रियरमा ड्युल मोटर रहेकाले ४.६२ मिटरको टर्निङ रेडियस र १५ डिग्री एङ्गलमा क्र्याब वाक समेत गर्न सक्छ । कम्पनीले यो ब्राण्डमा प्रिमियम फास्टब्याक, एसयूभी र लग्जरी एमपीभी समेत बजारमा उतारेको छ ।

बीवाइडीको चौथो अटो ब्राण्डको रूपमा लग्जरी प्रिमियम ब्राण्ड याङवाङ रहेको छ । यो ब्राण्डका गाडीहरू निर्माणमा कम्पनीले नयाँ टेक्नलोजी प्ल्याटफर्म ई४ विकास गरेको छ । चारै चक्कामा मोटर रहेने यो ब्राण्डको यू ८ मा अफरोड एसयूभीले ३६० डिग्री ट्याङ्क टर्न गर्ने र पानीमा समेत तैरन सक्ने फिचर छ ।

याङवाङ ब्राण्डमै कम्पनीले इलेक्ट्रीक हाइपरकार यू९ समेत लन्च गरिसकेको छ । यो कारमा एक्टिभी डिसुस सस्पेन्सन सिस्टम रहेकाले कुनै एक चक्का पंचर भएमा वा ट्रयाक्सन लस भएमा पनि तीन वटा ह्वीलको सहायताले गुड्न सक्छ । साथै, यो सस्पेन्सनले आवश्यक पर्दा कारको ग्राउण्ड क्लियरेन्स बढाउने र भर्टिकल जम्प समेत गर्न सक्छ । यो कार एरोडायनामिक्स डिजाइनमा बनेको कार हो । यसको ड्रयाग कोफिसियन्ट मात्र ०.१९५ रहेको छ । याङवाङको यू९ मात्र २ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

बीवाइडीले याङवाङ ब्राण्डमा नयाँ  फुल साइज लग्जरी सेडान यू७ बजारमा ल्याएको छ । दुई साताअघि मात्रै लन्च भएको यो कारमा बीवाइडीको गड्स आई एड्भान्स इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट सिस्टम रहेको छ ।

बीवाइडीले याङवाङ यू७ सेडान बडी डिजाइनमा भए पनि डिसुस जेड बडी कन्ट्राेल सिस्टमको प्रयोगले भर्याङ उक्लन सक्ने, हिउँमा कुद्न सक्ने, क्याबिनमा हल्लिएको अनुभूत नै नभई १२० एमएमसम्मको खाल्डाखुल्डी र बम्पी रोडमा गुड्ने जस्ता फिचर छन् ।

याङवाङमा रहेको एड्भान्स लाइडार सिस्टम तथा क्यामरा सेन्सरले यसको सस्पेन्सन ०.५ सेकेण्ड अगाडि नै रोड कन्डिसन प्रेडिक्ट गरी आवश्यकता अनुसार बडी हाइट तथा ड्याम्पिङ एड्जस्ट गर्छ ।

१३०० हर्सपावरको मोटर रहेको यो कारले जम्मा २.९ सेकेण्डमै शून्यबाट १०० किलोमिटरको स्पीडमा गुड्न सक्छ । यसमा रहेको टेक्नलोजीले यो कारको कुनै टायर फ्ल्याट भएमा त्यसलाई अटोमेटिक लिफ्ट गर्छ । जसले गर्दा ८० किलोमिटर प्रतिघण्टाको स्पीडमा ३० किलोमिटरसम्म कारलाई गुडाउन सकिन्छ ।

अटोमोबाइलमा टेक्नलोजीको भरपुर प्रयोग 

बीवाइडी न्यू इनर्जी भेहिलकमा ग्लोबल लिडर बन्न सफल हुनमा यसको टेक्नेलोजी नै हो । यसका गाडीमा भएका केही फिचर अपत्यारिला र अचम्मलाग्दा समेत छन् । नयाँ नयाँ टेक्नोलोजीको विकास र अनुसन्धानका लागि बीवाइडीले विश्वका धेरै देशमा रिसर्च एण्ड डेभलपमेण्ट (आर एण्ड डी) सेन्टर समेत स्थापना गरेको छ । जसमा सवा लाख बढी इन्जिनीयर र वैज्ञानिकले दिनरात काम गरिहरका छन् ।

कम्पनीका अध्यक्ष वाङ चियानफुका अनुसार बीवाइडीले हाल ३० हजार बढी पेटेन्ट हातमा लिएर बसेको छ । ती टेक्नलोजीहरू बजारको माग अनुसार आवश्यक परेको समयमा तुरुन्तै लन्च गरिने उनी बताउँछन् । बीवाइडीले यिनै नयाँ नयाँ टेक्नलोजीले भरीपूर्ण न्यू इनर्जी भेहिकलहरू बजारमा ल्याइ ग्लोबल अटो इन्डष्ट्री लिडर बन्ने योजना समेत बनाएको छ ।


Back_to_top