पेट्रोलियम पाइपलाइन निर्माणः लक्ष्यभन्दा १५ महिना अघि पुरा हुँदै

काठमाडौं । २०७४ फागुन महिनादेखि पाइपलाइन बिछ्याउने काम सुरु गर्दै ३० महिनामा ६९.९ किलोमटिर पाइपलाइन बिछ्याउने लक्ष्य इन्डियन आयल कर्पोरेसन (आईओसी) ले लिएको थियो । तर, लक्ष्यभन्दा निकै अघि यो पाइपलाइन निर्माणकार्य पुरा हुने देखिएको हो । 

भारतको मोतिहारीदेखि रक्सौल बोर्डरसम्मको ३३.७ किलोमिटर मध्य २९ किलोमिटर निर्माण सम्पन्न भएको छ भने, नेपालतर्फको रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर मध्ये २६ किलोमिटर निर्माण सम्पन्न भएको छ । 

काम सुरु भएको एक वर्षमा ३६.२ किलोमिटर पाइपलाइनमध्ये २६ किलोमिटर निर्माणकार्य पूरा भइसकेको भन्दै आयाल निगमका प्रवक्ता विरेन्द्र गोइतले तोकिएको समयअघि नै पाइपबाट तेल आयात हुने बताए । 

‘हामीले काम तिब्र गतिमा अगाडि बढाएका छाैँ, यही मार्चमा तेल ल्याउने हाम्रो लक्ष्य हो, त्यसमा केही दिन यताउता हुनसक्छ, तर निर्धारित समय अगाडि नै काम सकिने निश्चित छ’, गोइतले भने । 

प्रवक्ता गोइतकाअनुसार ढिलोमा जुन वा जुलाई महिनासम्ममा पेट्रोलियम पाइप लाइनबाट तेल ल्याउन सुरु भइसक्नेछ । 

‘पतलियाको वन कटानमा समस्या आयो भने केही समय थप लाग्न सक्ने हो नत्र मार्चमै पाइपलाइनबाट तेल आउन सुरु हुनेछ’, गोइतले मेरोअटोसँग भने । 

साढे ३ सय करोड भारतीय रुपैयाँमा बन्न लागेको यो पाइपलाइनमा भारतीय पक्षले २ सय करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सहमतिअनुरुप पाइप लाइन निर्माण सुरु गरिएको हो । 

पाइपलाइन बनेपछि प्रतिघन्टा २ लाख लिटरसम्म इन्धन निगमको अमलेखगञ्ज डिपोमा आपूर्ति गर्न सकिनेछ ।

पाइपलाइनको काम पूरा भएपछि इन्धन ढुवानीबापत् लाग्ने वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरको ट्याङ्कर ढुवानी र जनशक्ति खर्च जोगिने विश्वास निगमको छ ।

अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सौल नाकाबाट वीरगञ्ज हुँदै ट्याङ्करबाट नेपाल आउने गरेको छ । 


Back_to_top