काठमाडौं । सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको जीएसी एवोन भी एक मोर्डन र बक्सी लुक्समा तयार भएको एसयूभी हो । मूल्यका हिसाबले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध अन्य मोडल सरहको एवोन भी फिचरको आधारमा भने प्रतिस्पर्धीभन्दा अब्बल लाग्छ ।
चिनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइल कर्पोरेशनको न्यू इनर्जी भेहिकल युनिट एवोन ब्राण्डमा उपलब्ध भी मोडल साइज, फिचर र ब्याट्री क्षमताको आधारमा उत्कृष्ट छ । नेपाली सडकमा राम्रै प्रभाव पार्न सक्ने एवोन भीको प्रतिस्पर्धा लीपमोटरको सी-१०, बीवाइडी एटो-३ सुपेरियर जस्ता मोडलसँग हुँदै आएको छ ।
हामीले यसलाई काठमाडौंदेखि सुकुटेसम्म मेरोअटोकाे आयोजना भएको मोटर र्यालीमा चलाएर हेरेका थियौं । काठमाडौंको नक्सालबाट साँखु-नगरकोट-कुन्ताबेँसी हुँदै सुकुटेसम्मको बाटोमा यसलाई चलाएर हेरेपछि समग्रमा गाडीको लुक्स, पर्फमेन्स, ब्याट्री, मोटर, सुरक्षा फिचर र अन्य फिचरका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
डिजाइन र साइज
बाहिरबाट झट्ट हेर्दा निकै ठूलो एसयूभी देखिने बक्सी डिजाइन र लुकले धेरैको ध्यान खिच्न सक्छ । यसमा एच आकारमा दिइएको एलईडी हेडलाइट, ठाडो दुई लाइन जस्तो देखिने टेललाइट पाउन सकिन्छ ।
जीएसी एवोन भीको लम्बाइ ४६०५ एमएम, चौडाइ १८७६ एमएम र उचाइ १६८६ एमएम अग्लो छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस दिइएको छ । यसको फ्लोटिङ रूफ स्टाइल र क्रोम ट्रिमले एसयूभीलाई थप स्टाइलिस बनाएको छ ।
एवोन भीको भित्रि डिजाइन पनि आकर्षक छ । अझ मेरो हिसाबमा बाहिरभन्दा क्याबिन प्रिमियमसँगै फिचर लोडेड छ । ड्यासबोर्ड सफ्टच मेटेरियलले बनेको छ । ड्यासबोर्डको बीचमा दिइएको १४.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मिनिमलिस्ट डिजाइनले मन जित्छ ।
खाना हिटिङ र कुलिङ दुवैमा राख्न मिल्ने बक्स उपलब्ध एसयूभीमा मसाज सिट, हिटिङ र कुलिङ सिटको साथमा ४२७ लिटरको बुट स्पेस छ । जुन रियर सिट फोल्ड गर्दा ९८७ लिटरसम्म विस्तार हुन्छ ।

प्रदर्शन र रेन्ज
सीजी मोटर्सले नेपाल ल्याएको एवोन भीमा दुई ब्याट्री अप्सन र एउटा मात्रै मोटर अप्सन उपलब्ध छ । कम्पनीले १०० किलोवाट क्षमताको मोटरमा एवोन भी ल्याएको छ । यसको टर्क भने २४० एनएम छ ।
ब्याट्री भने ६२ र ७५ किलोवाट आवर क्षमताको छ । सीएलटीसीका अनुसार यसको रेन्ज ६५० किलोमिटरसम्म छ । डब्लूएलटीपीले भने ४८५ किलोमिटर रेन्ज दिने जनाएको छ ।
प्रविधि र फिचर
एडिगो पाइलट इन्टेलिजेन्ट ड्राइभिङ सिस्टममा लिडार, ५ एमएम वेभ राडार, ११ क्यामेरा, र १२ अल्ट्रासोनिक राडार एवोन भीमा दिइएको छ । यसमा रहेको एनभिडिया ओरेन एक्स चिपले स्मार्ट प्रोसेसिङ गर्छ ।
यसमा ३.३ किलोवाटको भेहिकल टु लोड सुविधा उपलब्ध छ । यसले क्याम्पिङ वा बाहिरी गतिविधि गर्न उपयोगी हुन्छ ।
सुरक्षा फिचर
मल्टिपल एयरब्याग, एबीएस, ईबीडी, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, रियर क्यामेरा, पार्किङ सेन्सर, र इलेक्ट्रीक पार्किङ ब्रेक जस्ता फिचर छन् । व्यापक रूपमा प्रयोग भएको सेन्सर र ३६० डिग्री क्यामेराले जस्तो सुकै बाटोमा सजिलै चलाउन सकिन्छ ।

मूल्य
सीजी मोटर्सले यसको सर्ट रेन्ज मोडललाई ६४ लाख ९९ हजार र लङ रेन्ज मोडललाई ६९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
निष्कर्ष
लामो रेन्ज, द्रुत चार्जिङ क्षमता, प्रिमियम फिचर र ठूलो स्पेस भएकाले यसको छनोट सही हुनसक्छ । गाडीको साइज र स्टेबिलिटीको कारण सहर होस् वा हाइवे दुवै स्थानमा चलाउन उपयुक्त हुन्छ ।
नवीनतम प्रविधि, आराम, र वातावरणमैत्री ड्राइभिङ खोज्नेहरूका लागि उत्कृष्ट विकल्प मान्न सकिन्छ । आफ्ना प्रतिस्पर्धीभन्दा बलियो फिचरका कारण यसले उपभोक्ताको मन जित्न सक्छ ।
नेपालमा सीजीको कमजोर डिलर नेटवर्कको कारण धेरै मानिसले यो गाडीका बारेमा जान्न र टेस्ट ड्राइभ गर्न पनि नपाएको अवस्था छ । त्यसैले धेरैले यसको चर्चा गरेको सुनिँदैन ।


