काठमाडौं । चीनको बेइजिङमा पोनी एआई रोबोट्याक्सी संचालनमा रोक लगाइएको छ । बेइजिङमा सेवा दिइरहेको एक रोबोट्याक्सी गुडिरहेको अवस्थामा सडकमै आगलागी भएपछि तत्कालका लागि संचालनमा रोक लगाइएको हो ।
रोबोट्याक्सीमा आगो लागेको भिडियो चिनियाँ सामाजिक संजालमा भाइरल भएको थियो । स्थानीय नियामकहरूले तुरुन्तै एक्सन लिँदै बेइजिङमा रोबोट्याक्सीे परीक्षण र सेवाहरू निलम्बन गरेका हुन् ।
त्यस्तै पोनी एआई को राइड हेलिङ एप प्रभावित क्षेत्रहरूमा अफलाइन गरिएको छ । यसको अब सञ्चालन कहिले सुरू हुन्छ भन्नेबारे कुनै आधिकारिक टाइमलाइन दिइएको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
शेयर मूल्यमा उच्च गिरावट
आगलागी र नियामक निलम्बनपछि पोनी एआईको शेयरमा गिरावट उच्च गिरावट आएको छ । एकैदिनमा कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो । यद्यपि, यस वर्ष कम्पनीको सेयर मूल्य समग्रमा २५ प्रतिशतभन्दा धेरैले बढेको छ । यसले कम्पनीको दीर्घकालीन सम्भावना बारे आशा झल्काउँछ । अब नयाँ सुरक्षा र नियामक चिन्ताहरूले पनि प्रभाव पार्न सक्ने जनाइएको छ ।

नियामक अधिकारीहरूलाई यस घटनाको टिप्पणीका लागि गरिएका अनुरोधहरूमा अहिलेसम्म कुनै जवाफ आएको छैन। चीन र अमेरिका दुवैमा सञ्चालन निलम्बित भएपछि पोनी एआईको अगाडिको बाटो अनिश्चित देखिन्छ।
पोनी एआईले चीनको प्रमुख शहरहरूमा २५० भन्दा बढी अटोनोमस भेहिकलहरू सञ्चालन गर्दछ । तर, अब चीन र अमेरिका दुवैमा सञ्चालन रोकिएपछि कम्पनीको भविष्य र विश्वसनीयता कायम राख्ने क्षमतामाथि प्रश्न उठेको छ।


