काठमाडौं । नेपाली बजारमा मोटरसाइकलको १६० सीसी निकै सफल मानिएको सेग्मेन्ट हो । कम बजेट तर फिचर र पावरको कम्बिनेसन राम्रो भएका कारणले गर्दा यो सेग्मेन्टलाई धेरै मोटरसाइकल चालकहरूले रुचाउने गर्छन् ।
अहिले नेपाली बजारमा १६० सीसी सेग्मेन्टमा टीभीएस, होन्डा, हिरो, बजाज लगाएतका केहि अन्य ब्राण्डहरूले आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् ।
यो सेग्मेन्टमा धेरै मोडल बीच प्रतिस्पर्धा भइरहेको छ । आज हामीले नेपाली बजारमा पछिल्लो समय यो सेग्मेन्टमा नयाँ मोडलको रूपमा आएका दुई मोटरसाइकल हिरो एक्स्ट्रीम १६० आर फोरभी र बजाज पल्सर एन १६० बीच तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।
लुक्स
यी दुई मोटरसाइकल नेकेड स्ट्रीट डिजाइनमा तयार भएका छन् । दुवैमा आकर्षक बडि ग्राफिक्स डिजाइन, नयाँ हेडलाइट सेटअप, सिधा सिंगल पिस ह्यान्डलबार, कम्फर्टेबल सिट, रियर भ्यू मिरर, एक्स्ट्रीममा स्पोर्टी बेलि प्यान एग्जस्ट र पल्सर एन १६० मा अन्डरबेली एग्जस्ट दिइएको छ ।
इन्जिन
पल्सर एन १६० मा १६४.८२ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एसओएचसी, टू भल्ब, एयर कूल्ड, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर तथा १४.६५ एनएमको टर्क जेनेरट गर्छ ।

एक्स्ट्रीम १६० आरमा १६३.२ सीसीको सिंगल सिलिन्डर, एयर–आयल कुल्ड, फोर स्ट्रोक, फोर भल्ब, एफआई इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १६.९ पीएस पावर तथा १४.६ एनएमको टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ भने टप स्पीड १२० किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ ।
माइलेज
एक्स्ट्रीम १६० आरमा १२ लिटर र पल्सर एन १६० मा १४ लिटरको इन्धन ट्यांक रहेको छ । कम्पनीले बताए अनुसार दुवै मोटरसाइकल १ लिटर पेट्रोलबाट ४५ देखि ५० किलोमिटरसम्म गुडाउन सकिने छ ।
सस्पेन्सन र टायर
दुवै मोटरसाइकलको फ्रन्टमा यूएसडी फोर्क दिइएको छ भने एन १६० को रियरमा ५ स्टेप र एक्स्ट्रीम १६० को रियरमा ७ स्टेपको एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ ।
दुवै मोटरसाइकलमा ट्युबलेस टायर, अलोय ह्वील र डबल डिस्कब्रेक रहेको छ भने एन १६० मा तीन मोड सहितको स्वीचेबल डबल च्यानल एबीएस र एक्स्ट्रीम १६० मा स्वीच गर्न नमिल्ने खालको सिंगल च्यानल मात्रै एबीएस दिइएको छ ।
फिचर
यी दुई मोटरसाइकल नेपाली बजारमा एड्भान्स फिचरहरू भएको मोडलमा पर्छन् । एक्स्ट्रीम १६० आरमा पुरा एलइडी लाइट सेटअप, इन्भर्टेड एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटूथ कनेक्ट सिस्टम, कल एसएमएस अलर्ट, स्मार्ट सेन्सर सेन्स टेक्नोलोजी इन्जिन किल स्वीच, हाजार्ड लाइट, ड्राग टाइमर, पिलियन ग्रयाब रेल, इलेक्ट्रीकसँगै किक स्टार्ट सिस्टम र साइड स्ट्यान्ट इन्जिन कटअफ लगाएतका फिचरहरू छन् ।

पल्सर एन १६० मा पनि पूरा एलईडी लाइट सेटअप छ । साथै, यसमा डिआरएल, पूरा डिजिटल मिटर, कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट, टर्न बाई टर्न नेभिगेसन, स्लिपर क्लच, यूएसबी चार्जिङ पोर्ट र इलेक्ट्रीक स्टार्ट सिस्टम मात्रै दिइएको छ
मूल्य
बजाज पल्सर एन १६० दुई भेरियन्टमा उपलब्ध छ । एचएच बजाजले नेपाली बजारमा हालसालै सार्वजनिक गरेको नयाँ भेरियन्ट पल्सर एन १६० को मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको हो । यसको पुरानो भेरियन्टको मूल्य भने ४ लाख १ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भने एक्स्ट्रीम १६० आर फोभी मोटरसाइकलको मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ तोकेको छ ।

