काठमाडौं । हेलमेटको गुणस्तर कस्तो हुने भन्ने विषयमा नयाँ मापदन्डको ड्राफ्ट तयार भएको छ । अब ऐन बनाएर यसको कार्यान्वयन गर्ने तयारीमा नेपाल गुणस्तर तथा नापतौल विभाग जुटेको हो ।
मापदन्ड बिहिन हेलमेटका कारण दुर्घटनमा धेरैले ज्यान गुमाउनु परेको भन्दै नयाँ हेल्मेट मापदन्ड तयार गरिएको हो । अब ऐन आएसँगै नेपाल गुणस्तर चिन्ह प्राप्त नगरेका हेलमेट बिक्री वितरण गर्न पाइने छैन ।
नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक मणिराम भुसालले हेलमेटको गुणस्तरले नै त्यसले चालकको टाउकोको सुरक्षा कतिसम्म गर्छ भन्ने कुरा पत्ता लाग्ने बताए ।
‘हामीले प्रकृया सुरु गरिसकेका छौं, यसलाई कार्यान्वयनमा ल्याउन पहिला नेपाल भित्रिने हेलमेट कम्पनीहरुको अवलोकन गर्नु पर्ने हुन्छ,’ भुसालले भने ।
उनका अनुसार गुणस्तर तथा नापतौल विभागका प्रतिनिधिले आफै गएर नेपालमा आयात हुने हेलमेट कम्पनीहरुको परिक्षण पछि त्यसलाई एनएस दिने÷नदिने निर्णय गरिने छ । नेपालको मापदण्ड अनुसार भएको पाइए एनएस चिन्ह दिइने छ । पछि भन्सारबाट भित्र्याउने क्रममा नै एनएस प्रमाणीकरण कागज चेक गरेर मात्र आयात गर्न दिनेछ ।
हेलमेट मापदण्ड कार्यन्वयनमा आएपछि नेपालमा कुनै पनि एनएस चिन्ह नभएको हेलमेट प्रयोग गर्न नदिने उनले जानकारी दिए ।
नेपालमा वर्षेनी ३ हजार ५ सय मानिसहरुले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परिरहेको छ ।
त्यसमध्ये ५१ प्रतिशत मानिसहरुलाई दुर्घटनाका क्रममा गुणस्तरीय हेलमेट नभएका कारण टाउकोमा चोट लाग्ने गर्छ । गुणस्तरहिन हेलमेटकै कारण दुर्घटनामा ६९ प्रतिशत मानिसको टाउकोमा जटिल चोट लाग्ने गरेको छ ।
गुणस्तर अनिवार्य भएपछि नियामक निकायलाई हेलमेट सम्बन्धि नियमन गर्नका लागि सजिलो हुने भुसालले भने ।
कस्तो हुनु पर्छ हेलमेट ?
सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ । सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ ।
त्यसको आउटर प्याड सुरक्षीत हुनुपर्ने हुन्छ ।
घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्ने हुन्छ । यसको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्ने हुन्छ ।
नेपालमा कुल ३० लाख हाराहारीमा मोटरसाइकल रहेका छन् ती चालकले लगाउने हेलमेट सुरक्षीत नहुँदा दुर्घटनामा ज्यान गुमाउने बढि रहेका छन् ।


