हुन्डाई अल न्यू सेन्ट्रो रिभ्यूः सुरक्षा र कम्फर्टले मूल्यलाई जित्छ

काठमाडौं । माइलेज, कम्फर्ट, सुरक्षा तथा रिसेल भ्यालूका लागि चर्चित हुन्डाई सेन्ट्रोको थर्ड जेनरेशन गत फेबु्रवरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन नेपाली बजारमा सार्वजनिक भएको थियो । दक्षिण कोरियाली कम्पनी हुन्डाईले भारतमा निर्माण गरेको पहिलो कार सेन्ट्रोको आधुनिक संस्करण नेपाली बजारमा पनि उपलब्ध भएको हो । 

हुन्डाईले राम्रो युनिट बिक्री गरिरहेकै अवस्थामा सन् २०१३ बाट यो मोडलको उत्पादन बन्द गरेको थियो । नेपालीका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो हुन्डाई मोटर्ससँगको व्यावसायिक साक्षेदारीको १० वर्ष पुगेको उपलक्ष्यमा अल न्यू सेन्ट्रोको तेस्रो संस्करण नेपाली उपभोक्तामाझ ल्याएको हो । 

यसको इन्जिन रिफाइन रहेकाले गियरसमेत बारम्बार परिवर्तन गरिरहनु पर्दैन । 

हुन्डाईको सेन्ट्रो तेस्रो संस्करणमा आइपुग्दा कम्पनीले यसमा समयानुकूल परिमार्जन गर्दै सुरक्षा तथा अन्य सुविधाहरू धेरै नै थप गरेको छ । कारको लूक्सलाई परिमार्जन गर्दै फ्रेस लूक्स दिएको छ । 

हुन्डाई सेन्ट्रोका प्रडक्ट मेनेजर दीवाकर रेग्मीकाअनुसार हुन्डाईको इन्ट्रीलेवल कार सेन्ट्रो बजारमा उपलब्ध अन्य कम्पनीका इन्ट्री लेवल कारको तुलनामा इन्जिननै फरक रहेको बताउँछन् । 

‘अन्य कम्पनीका इन्ट्रीलेवलका कारमा ३ सिलिन्डर इन्जिन हुन्छ, जसको कारण इन्जिन स्टार्ट गर्दा ठूलो भाइब्रेसन आउने तथा क्याविनमा इन्जिनको धेरै आवाज सुनिने गर्छ,’ रेग्मीले भने, ‘तर हुन्डाईको सेन्ट्रोमा ४ सिलिन्डर इन्जिनको प्रयोग भएकाले यस्ता आवाज जिरो बराबर हुन्छ ।’ 

जुन कुरा हामीले टेस्ट ड्राइभको क्रममा ३ सिलिन्डर इन्जिनको तुलनामा साँच्चै नै फरक महसूस गर्न सक्यौँ । त्यस्तै, यसको इन्जिन रिफाइन रहेकाले गियरसमेत बारम्बार परिवर्तन गरिरहनु पर्दैन । अर्थात्, माथिल्लो गियरमा पनि कम स्पीडमा सजिलै चलाउन सकिन्छ । नेपालको जस्तो ट्राफिक जाम भइरहने तथा खराब बाटाहरूमा पनि यसले राम्रो पफर्मेन्स दिन्छ । 

यो कारको स्टेरिङ तथा गियरबक्स पनि सारै सहज रहेको हामीले पायौँ । धेरै कम्पनीहरूले कारको माइलेज बढाउन ३ सिलिन्डर इन्जिनको प्रयोग गर्ने गरेका छन् । तर, हुन्डाईले ४ सिलिन्डरको इन्जिनको प्रयोग गरेर पनि माइलेजको मामलामा कुनै कम्प्रमाइज गरेको छैन । कम्पनीकाअनुसार यसको माइलेज २०.३ किलोमिटर प्रतिलिटर रहेको छ । जुन इन्ट्रीलेबल कारका लागि उत्कुष्ट रहेको छ । 

हामीले हुन्डाई सेन्ट्रोलाई थापाथलीबाट कोटेश्वर, पेप्सीकोला, गोठाटार हुँदै एयरपोर्टको पछाडिको राडार डाँडासम्म चलाएका थियाँै । त्यस क्षेत्रको बाटो राम्रो, कच्ची, उकालो, ओरालो, हिलो सबै किसिमको रहेको छ । ति बाटाहरूमा चलाउँदा कुनैखालको समस्या परेन । ठाडो उकालोमा पनि २ नम्बर गियरमै सजिलै यो कार उक्लिन सफल रह्यो । यसको १६५ एमएमको ग्राउण्ड क्लियरेन्सले पनि कुनै समस्या सृजना गरेन । यसमा रहेको शक्तिशाली १.१ लिटरको इन्जिनले जुनसुकै बाटोमा पनि राम्रो पफर्मेन्स दिन सफल रह्यो । 

तेस्रो जेनेरेशनमा आइपुग्दा सेन्ट्रोमा सुरक्षाका लागि एयरव्याग तथा ईबीडीसहितको एबीएस पनि रहेको छ, जुन आजको गतिअनुुसार अति आवश्यक भइसकेको छ । साथै, यसमा कम्फर्ट फिचरको रुपमा धेरै सुविधाहरू थपिएका छन् । यसमा सेग्मेन्टमै पहिलो रियर एसी–भेन्ट रहेको छ, जसले पछाडिको पेसेन्जरहरूका लागि पनि वातानकुलित अनुभव गराएको छ । 

यसको १७.६४ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम जुन एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्ने रहेको छ । यसमा आफ्नो स्मार्ट फोनलाई सजिलै कनेक्ट गर्न सकिन्छ । यसको सेन्टर कन्सोलमै रहेको पावर विण्डोको सुइजहरूले नियमित फङ्गसन गर्न ज्यादै सजिलो बनाएको छ । 

हुन्डाईको यो कारले २० वर्षदेखिको लिगेसीलाई पक्कै पनि जोगाउन सक्नेछ ।

कार चलाउँदा यसको सिटमा रहेको साइड सपोर्टले सारै कम्फर्टटेवल अनुभव गराएको थियो । सिटमा राम्रो फेब्रिक र लेदरको प्रयोग गरिएको छ । टलह्याच डिजाइन भएकोले कारमा बस्दा टाउको माथि अझै धेरै स्पेस रहेको अनुभव हुन्छ । हामीले यो कारलाई लिएर बाटोमा हिँड्दा तथा कही रोकिएर बस्दा पनि सबैको नजर यो कारले खिचेको देखियो । हुन्डाईको यो कारले २० वर्षदेखिको लिगेसीलाई पक्कै पनि जोगाउन सक्नेछ ।

म आफँैले पनि करिब १५ वर्ष अगाडि पहिलोपटक पहिलो जेनेरेशन सेन्ट्रो जीप चलाएको थिए । सो समयमा कारको त्यति ज्ञान त थिएन, तर पनि यो कार चलाएर अरु कार चलाउँदा केही अप्ठ्यारो महसूस हुने गरेको थियो । 

पछि सन् २०१५ तिर एक मित्रको सेन्ट्रो–जिङ्ग जीएलएसमा लामो यात्रा गर्ने अवसर जुरेको थियो । जसमा अझ सेन्ट्रोको राम्रो ड्राइभिङ अनुभव गर्न पाएको थिए । 

हालको यो तेस्रो जेनेरेसनको सेन्ट्रो चलाउँदा मेरो पहिलो ड्राइभको अनुभवको त्यो रोमाञ्चकता यसले अझ ताजा गराएको छ । तर, यही सेग्मेन्टमा अन्य कारहरूमा स्ट्याण्डर्ड फिचरको रुपमा उपलब्ध रिभर्स पार्किङ क्यामराको अभाव भने यसको म्याग्ना र स्पोर्टजमा खड्किएको छ । 

सुरक्षा, माइलेज, कम्फर्ट तथा रिसेल भ्यालूका लागि नेपाली बजारमा उपलब्ध कारहरूमध्ये हुन्डाईको सेन्ट्रो एकदमै उपयुक्त फेमिली कार हो । अझ लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका सर्भिस सेन्टरहरू देशका सबै मुख्य सहरहरूमा पुर्याएकोले यो कार निस्फिक्री भएर नेपालभर जहाँतहिँ लान सकिन्छ । 

ग्राहकहरूले ५ वर्षअघिको मूल्यसँग हालको मूल्य तुलना गर्दा सुरुमा महंगो लागे तापनि यसमा दिइएको फिचरहरू तथा सुरक्षाका थप मापदण्डकाबारेमा बुझेपछि कन्भिन्स हुने गरेको भट्टले बताए । 

यसको सुरुवाति मूल्य केही बढी भएको आम–जनमानसका चासो बुझेका थियौँ । संजोगले सेन्ट्रो फर्काउन हुन्डाईको थापाथली शोरुममा पुग्दा कम्पनीका जनरल म्यानेजर रुपेश शर्मा भट्टसँग भेट भयो र हामीले मूल्यसम्बन्धी जिज्ञासा राखिहाल्यौँ । उनले भने हुन्डाईको सेकेन्ड जेनरेशन सेन्ट्रो सन् २०१४ मा १९ लाख ६६ हजार रहेकोमा पाँच वर्षको अवधिमा करिब ५ लाख बढेको हो । पछिल्लो समयमा भएको मूल्य बृद्धि र नेपाल सरकारले करको दरमा गरेको व्यापक बृद्धिले बढेकोे हो । हुन्डाईले सेन्ट्रोमा सुरक्षाका फिचरहरू एयरव्याग तथा एबीएस थपेको छ । 

रिभर्स पाकिङ क्यामरा तथा ठूलो स्क्रिन भएको इन्फोटेन्मेन्ट सिस्टमकासाथै रियर एसी–भेन्ट पनि लगाएको छ । यी विविध कारणले यसको मूल्य केही बढेको हो । यो कार कन्टिन्यू भएको भए पनि प्रत्येक वर्ष केही मूल्य बढ्दा ५ वर्षको अवधिमा ५ लाख मूल्य त बढ्ने नै थियो । ग्राहकहरूले ५ वर्षअघिको मूल्यसँग हालको मूल्य तुलना गर्दा सुरुमा महंगो लागे तापनि यसमा दिइएको फिचरहरू तथा सुरक्षाका थप मापदण्डकाबारेमा बुझेपछि कन्भिन्स हुने गरेको भट्टले बताए । 

नेपाली बजारमा सेन्ट्रोको म्याग्ना, स्पोर्टज् तथा स्पोर्टज अटोमेटिक गरेर तिनवटा भेरियन्ट उपलब्ध रहेको छ । जसको सुरुवाति मूल्य २४ लाख ९६ हजार रहेको छ ।

यो पनि पढ्नुस्ः हुन्डाई सेन्ट्रोले बनायो नयाँ रेकर्ड


Back_to_top