हेटौँडामा नयाँ सवारी दर्ता ३८ प्रतिशतले बढ्यो, उठ्यो ५७ करोड राजस्व

काठमाडौं । यातायात व्यवस्था कार्यालय हेटौँडामा आर्थिक वर्ष २०८१/८२ मा नयाँ सवारी साधन दर्ता ३८.५५ प्रतिशतले बढेको छ ।

गत आवमा उक्त कार्यालयमा कुल ६ हजार ९५ वटा साना तथा ठूला नयाँ सवारी साधन दर्ता भएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १ हजार ६९६ वटा धेरै हो । अघिल्लो आवमा कुल ४ हजार ३९९ वटा नयाँ सवारी दर्ता भएका थिए ।

त्यस्तै, कार्यालयले गत आवमा ५७ करोड ४२ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट उक्त राजस्व संकलन भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १ करोड ३५ लाख ५९ हजार रूपैयाँ बढी राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । कार्यालयले आव २०८०/८१ मा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतका शीर्षकबाट ५६ करोड ७ लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

आव २०८१/८२ मा सवारीसाधन चालक अनुमतिपत्र वितरणबाट ९ करोड ६२ लाख ८१ हजार रूपैयाँ, सवारी करबाट ३४ करोड ७९ लाख ९८ हजार रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट आठ करोड ९५ लाख ९४ हजार रूपैयाँ, संघीयतातर्फ चार करोड तीन लाख ९४ हजार रूपैयाँ तथा बेरुजुबाट आठ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, आव २०८१/८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पोरई रिक्सा ८८९, जीपरकाररभ्यान ७६१, क्रेन/डोजर/एस्काभेटर/ट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा ७ हजार १२० सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ। सो अवधिमा ६ हजार ३७१ नवीकरण, ९२ प्रतिलिपी, ९७ वटा नवीकरण र प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ।


Back_to_top