अर्को बुधबारबाट दुई नयाँ पेट्रोल कार बिक्री सुरू हुँदै

काठमाडौं । आगामी साताको बुधबार (साउन २१ गते)बाट पेट्रोलियम पदार्थबाट चल्ने दुई नयाँ कार बिक्री सुरू हुने भएका छन् । माज्दा र फक्सवागेनले पेट्रोलबाट चल्ने मोडलहरू बिक्री सुरू गर्न लागेका हुन् ।

आगामी साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा माज्दाले सीएक्स-६० एसयूभी बिक्री थाल्न थालेको हो ।

पारामाउन्ट मोटर्स स्रोतका अनुसार सीएक्स-६० मोडल अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध हुनेछ । नाइमा अवलोकन गर्नेका लागि जापानी उत्पादकको नयाँ एसयूभी प्रिमियम विल्कुलै नयाँ मोडल हुनेछ ।

माज्दाले सीएक्स ६० मोडलमा २.५ लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १९० ब्रेक हर्स पावर प्रदान गर्छ । यसको पीकटर्क २६१ न्यूटन मिटर टर्क रहने छ ।

यसको इन्टेरियर निकै प्रिमियम लाग्छ । साथै, आधुनिक फिचरको लामो लिष्ट उपलब्ध सीएक्स ६० मूल्यका हिसाबले पनि महँगो मोडल हुनेछ ।

अर्को पेट्रोलियम पदार्थबाट चल्ने कार फक्सवागेनले बिक्री थाल्दैछ । फक्सवागेनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपालले भर्टुस सेडान कारको बिक्री थाल्न लागेको हो ।

फक्सवागेनले भारतमा उत्पादन गरेको भर्टुस सेडानमा १.० लिटर टीएसआई इन्जिन रहने छ । कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार भएको भर्टुसमा स्लीक र्यापअराउण्ड हेडलाइट दिइएको छ ।

निकै मोर्डन क्याविन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।

साथै, सनरुफ, वायरलेस चार्जर, ८ वटा स्पीकरसहितको अडियो सिस्टमले युवाहरूको आकर्षण बढाउन सक्छ । यसको मूल्य ५५ लाख रुपैयाँ हाराहारी पर्छ ।


Back_to_top