कारमा ‘फ्लस डोर ह्याण्डल’ प्रयोगमा प्रतिबन्ध लगाइँदै, यस्तो छ कारण

काठमाडौं । पछिल्लो समयमा इन्ट्री लेभल कारमा समेत प्रयोग हुन थालेको फ्लस डोर ह्याण्डलमा प्रतिबन्ध लगाइने भएको छ ।

चिनियाँ नियामक निकायले कारमा फ्लस डोर ह्याण्डल प्रयोगमा प्रतिबन्ध लगाउने समाचार बाहिरिएको हो ।

अमेरिकी इलेक्ट्रीक कार कम्पनी टेस्लाले आफ्ना ईभीमा एरोडायनामिक्स बढाउन प्रयोगमा ल्याएको यो प्रविधि अहिले प्रायः सबै ईभीमा प्रयोग हुन थालेको छ । तर, चिनियाँ नियामकले रक्षा खतरा र ‘फङ्सनल डिफिसेन्सी’ बढेको भन्दै यो प्रविधिको प्रयोगमा रोक लगाउन लागेको हो ।

चिनियाँ संचार माध्यमहरूका अनुसार यो नियम यसै महिनाको अन्त्यसम्ममा कार्यान्वनमा आउने छ । चिनियाँ नियामकले फुल्ली रिट्रयाकटेबल डोर ह्याण्डलको सट्टामा सेमी रिट्रयाक्टेबल वा परम्परागत डोर ह्याण्डल प्रयोग गर्न भने दिने जनाएको छ ।

परीक्षणको क्रममा यसको ड्रयाग कोफिसियन्टमा प्रभाव भने ०.०१ मात्र रहेको छ । जसको मतलब पपअप डोर ह्याण्डलले १०० किलोमिटर यात्रामा ०.६ किलोवाट आवरको बचत गरेको थियो । तर, पपअप डोरह्याण्डल जडान गर्दा मेकानिकल स्ट्रक्चर र मोटरको ७ देखि ८ किलो तौल थपिँदा एरोडायनामिक्स्को फाइदा नगन्य मात्र हुन आउँछ ।

पपअप डोर ह्याण्डलको लागत परम्परागत लिभर डोर ह्याण्डल भन्दा बढी हुने गरेको छ । यो ह्याण्डल फेल भएर १२ प्रतिशत न्यू इनर्जी भेहिलक रिपेयर भएको पाइएको छ ।

त्यस्तै, गाडी भित्रै यात्रुहरू रहेको अवस्थामा अत्याधिक चिसो मौसममा फ्लस डोर ह्याण्डल जमेर उद्धार गर्नुपरेको, वर्षातको समयमा फ्लस डोर ह्याण्डलले काम नगरेकाले झ्या फुटाएर समेत बाहिर निकालिएका घटनाहरू छन् ।

परम्परागत लिभर टाइप डोर ह्याण्डलको सट्टामा यस्ता फेन्सी पप आउट टाइप डोर ह्याण्डलको प्रयोग चिनियाँ भेहिकलमा धेरै देखिन्छ । यसलाई इलेक्ट्रीकल्ली कन्ट्रोल गरिने भएकोले समस्या आउँदा वा दुर्घटना पर्दा ढोका खोल्ने उपाय नै नहुने देखिएको छ ।

पछिल्लो समय चीनबाट नेपाल आयात हुने ईभीहरूमा पनि फ्लस डोर ह्याण्डल प्रयोग भएको पाइन्छ ।


Back_to_top