काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान नियमित रूपमा संचालन भइरहेको छ ।
जेन जीको आन्दोलनका कारण मंगलबार दिउँसोदेखि विमानस्थल बन्द गरिएको थियो । अन्तर्राष्ट्रिय उडान बुधबार साढे ३ बजेदेखि नै संचालनमा ल्याइएको थियो भने आन्तरिक उडान आज बिहानदेखि सुरु भएको हो ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएसँगै विमानस्थलका यात्रुको चाप बढेको छ ।
बुधबार (भदौ २५) साँझदेखि नै उडान नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।
‘विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ,’ उनले भने ।
विमानस्थलको हालको तालिकाभन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा नियमित गरिने विमानस्थलले जनाएको छ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ ।
यता, वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्यमा लगिरहेको विमानस्थलले जनाएको छ ।
निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, बिहीबार (भदौ २६) बिहानदेखि नियमित रूपमा उडानहरू भइरहेका छन् । काठमाडौं र बाहिरका गन्तव्यमा दुई/तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।
‘जेनजी’ पुस्ताका कारण विषम परिस्थिति उत्पन्न भएपछि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयानुसार, बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।
विमानस्थलले हवाई उडानका निम्ति विमानस्थल आवागमन गर्ने यात्रुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर आउन अनुरोध गरेको छ । यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक आन्तरिकतर्फ करिब २५० बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारीमा गरी करिब ३५० उडान हुन्छ ।आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

