अपाचे सिरिजका सबै मोटरसाइकलको ‘लिमिटेड एडिसन’ सार्वजनिक

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता टीभीएस मोटरको निकै लोकप्रिय मानिने मोटरसाइकल अपाचे सिरिजको सबै मोडलको ‘लिमिटेड एडिसन’ सार्वजनिक भएको छ ।

टीभीएसले भारतीय बजारमा अपाचे १६०, १८०, २००, आरटीआर ३१० र आरआर ३१० मोटरसाइकलको नयाँ एडिसनसँगै आरटीआर १६० फोरभी र आरटीआर २०० फोरभीको नयाँ फ्ल्यागशिप भेरियन्ट समेत सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो २० वर्ष पूरा भएको उपलक्ष्यमा अपाचे सिरिजमा विशेष लिमिटेड एडिसन मोडल र नयाँ टप इण्ड भेरियन्ट सार्वजनिक गरेको हो।

२० औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको अपाचे आरटीआर १६०, १८०, २००, ३१० र आरआर ३१० को लिमिटेड एडिसन भर्सनमा विशेष ब्ल्याक एण्ड च्याम्प्लिन गोल्ड पेन्ट स्किम, ड्युअल टोन अलोय ह्विल र २० औं वार्षिकोत्सवको विशेष लोगो दिइएको छ। साथै, अपाचेमा पहिलो पटक यूएसबी चार्जिङ पोर्ट पनि उपलब्ध भएको छ।

नयाँ टप एण्ड आरटीआर १६० फोरभी र २०० फोरभीमा पनि कम्पनीले निकै राम्रो अपडेट गरेको छ। दुवै मोटरसाइकलमा फुल एलईडी क्लास डी प्रोजेक्टर हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ ।

मोटरसाइकलमा नयाँ ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, नेभिगेसन र भ्वाइस असिस्ट जस्ता फिचरहरू थपिएका छन् । यसका अलावा आरटीआर २०० फोरभीमा भने अब ट्रेक्सन कन्ट्रोल, असिस्ट स्लिपर क्लच र ड्युअल च्यानल एबीएस पनि थपिएको छ।

आरटीआर १६० फोरभीले अधिकतम १७ ब्रेकहर्स पावर र आरटीआर २०० फोरभीले अधिकतम २० ब्रेकहर्स पावर जेनेरेट गर्छ । दुवैमा अर्बन, रेन र स्पोर्ट राइड मोड र एडजस्टेबल लिभरजस्ता एड्भान्स फिचर रहेको छ ।

भारतीय बजारमा नयाँ आरटीआर १६० मोटरसाइकलको मूल्य १ लाख ३७ हजार ९९० र आरटीआर १८० को १ लाख ३९ हजार ९९० भारतीय रुपैयाँ रहेको छ । त्यस्तै, आरटीआर १६० फोरभीको १ लाख ५० हजार ९९०, २०० को १ लाख ६२ हजार ९९०, ३१० को ३ लाख ११ हजार र आरआर ३१० को ३ लाख ३७ हजार भारु (एक्स शोरुम) निर्धारण गरिएको छ ।

भारतबाट लगभग ८० देशहरूमा निर्यात हुँदै आइरहेको टीभीएस अपाचे आरटीआर सिरिज २० वर्षको अवधिमा ६५ लाख युनिटभन्दा बढी बिक्री भइसकेको  कम्पनीले जनाएको छ ।

टीभीएसले अपाचेको सुरूवात आरटीआर १५० मोटरसाइकलबाट सुरू गरेको थियो । हाल कम्पनीको सो यात्रा आरटीआर १६०, १८०, २००,  आरआर ३१० हुँदै आरटीआर ३१० सम्म पुगिसकेको छ।

यस सिरिजले बजारमा बजाज पल्सर, यामाहा एफजेड र केटीएम ड्युक जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्दै आइरहेको छ ।


Back_to_top