कोरला नाका हुँदै भित्रिन थाले ईभी, दुई कम्पनीले ल्याएका ८० कार भन्सारमा

काठमाडौं । चिनियाँ नाका कोरला हुँदै नेपालमा विद्युतीय सवारी साधन (ईभी) आयात हुन थालेको छ ।

२ महिनादेखि प्रमुख नाका रसुवागढी र तातोपानी बन्द भएपछि व्यवसायीहरूले विकल्पमा मुस्ताङको कोरला नाका हुँदै ईभी ल्याउन थालेका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले ८० वटा विद्युतीय सवारी मुस्ताङको नेचुङस्थित भन्सार यार्डमा आइपुगेको जानकारी दिए । उनका अनुसार बीवाइडी र जेकेको गाडी भन्सारमा आइपुगेका हुन् ।

नेपालमा बीवाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र ओमोडा एण्ड जेकोको एसपीजी अटोमोबाइल्सले ती कार ल्याएका हुन् । यद्यपि, व्यवसायीले जाँचपासका लागि घोषणा नगरेकाले कुन कम्पनीका कति वटा भन्ने ठ्याक्कै थाहा नभएको उनले बताए ।

‘हालसम्म बीवाइडी र जेकोका ८० वटा विद्युतीय कार भन्सार यार्डमा आइपुगेका छन् । अरु पनि धेरै गाडी आउँदै छन् भन्ने सुनिएको छ,’ उनले मेरोअटोसँग भने, ‘हिजोदेखि इन्टरनेट नहुँदा जाँचपास प्रक्रिया अघि बढ्न सकेको छैन । इन्टरनेट सेवा सुचारु भएसँग जाँचपास हुन्छ ।’

पोल ढलेर इन्टरनेट सेवा अवरुद्ध भएको र अहिले नेपाल टेलिकमको डाटा समेत नचलेकाले भन्सारको काम ठप्प भएको उनले बताए ।

त्यस्तै, उनले लत्ता कपडा, इलेक्ट्रोनिक्स, कस्मेटिक्स लगायत समान बोकेका ४७ वटा कन्टेनर पनि भन्सार यार्डमा आइपुगेको जानकारी दिए । इन्टरनेट नभएकाले ती केन्टेनरको सामान पनि जाँचपास हुन बाँकी रहेको उनले बताए ।

भन्सार विभागले भदौदेखि कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै उक्त नाका हुँदै धमाधम सामान आयात हुन थालेको हो । भन्सार अधिकृत खड्काका अनुसार चीनबाट ल्याइएको सामान कोरला बोर्डरभन्दा १४ किमी वर नेचुङस्थित कार्यालयबाट जाँचपासको व्यवस्था मिलाइएको छ । राजस्व तिर्न लोमाङथाङमा प्रभु बैंक तोकिएको उनले बताए ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल र सडक बगाएपछि रसुवागढी नाका ठप्प छ । अहिले उक्त स्थानमा बेलिब्रिज र सडक निर्माण भइरहेको छ । त्यस्तै, तातोपानी नाका पनि वर्षा लागेदेखि अधिकांश समय बन्द छ । हल्का पानी पर्ने बित्तिकै कोदारीमा पहिरो झरिहाल्छ । पन्छाएर खुलाए पनि फेरि पानी पर्ने बित्तिकै बन्द भइहाल्ने अवस्था छ ।

चीनसँगको दुवै व्यापारिक नाका बन्द भएपछि व्यवसायीले विकल्पमा कोरलाबाट लत्ताकपडा, इलेक्ट्रोनिक्स, सवारी साधन लगायत सामान ल्याउन थालेका हुन् । तातोपानी र रसुवागढीको तुलनामा कोरला नाका ४ गुणा टाढा भए पनि विकल्पमा प्रयोग गर्न थालिएको हो ।

सवारी बिक्रेताहरूले गत नाइमा र नाडा अटो शोमा दशैं, तिहारमा डेलिभरी गर्ने गरी हजारौं युनिट सवारी साधन बुकिङ लिएका थिए । तर, नियमित आयात गर्दै आएको रसुवा र तातोपानी सडक बन्द भएपछि व्यवसायी चिन्तित भएका थिए । यी दुवै नाकाको तुलनामा ढुवानी लागत र समय धेरै लाग्ने भए पनि व्यवसायीले विकल्पमा अहिले कोरलाबाट गाडी आयात गर्न थालेका हुन् । काेरलाबाट ल्याउँदा पानीजहाजबाट भारत हुँदै ल्याउनभन्दा थोरै समय लाग्छ ।

कस्तो छ कोरला पुग्ने सडक ?

काठमाडौंबाट कोरला पुग्न करिब ४७० किमी दुरी पार गर्नुपर्छ । यो तातोपानी (११३ किमी) र रसुवागढी (१२७ किमी) नाकाको तुलनामा चार गुणा धेरै लामो पर्छ । तर, दुवै नाका बन्द हुँदा टाढै भए पनि विकल्पको रुपमा हेरिएको छ ।

काठमाडौंबाट कोरला पुग्ने सडक कतै कालोपत्र, कतै ग्राभेल छ । नागढुंगाबाट मुग्लिनसम्मको १०० किमी निर्माणाधीन अवस्थामा छ । ३ खण्डमा विस्तार भइरहेको यो सडकको करिब ३५ किमी खण्डमा नयाँ कालोपत्र भएको छ । करिब ५० किमीमा पुरानै कालोपत्र छ । निर्माणाधीन रहेकाले खाल्डाखुल्डी, पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने अवस्था छ ।

मुग्लिनबाट पोखरासम्मको ८० किमी सडक लगभग सबै कालोपत्र भइसकेको छ । दुईखण्डमा विस्तार भइरहेको यो सडक आबुखैरेनी जामुने ४१ किमी पूरै कालोपत्र सकिएको छ भने जामुने पोखरा खण्डको ३६ किमी कालोपत्र भएको छ ।

पोखराबाट मालगढुंगासम्मको ६७ किमी सडक पनि पुरै कालोपत्र छ । मालढुंगाबाट कोरोलासम्मको २०२ किमीमध्ये ठाउँठाउँमा गरी करिब ६० किमी कालोपत्र भएको छ । बाँकी मध्ये अधिकांश ठाउँमा ग्राभेल रहेको छ ।

बेनी जोमसोम कोरला सडक योजना ३ जिल्लामा पर्छ । जसमध्ये पर्वतमा १३ किमी, म्याग्दीमा ३३ किमी र मुस्ताङमा १५६ किमी पर्छ । सोमध्ये पर्वतमा ७ किमी, म्याग्दीमा २६ किमी र मुस्ताङमा ६० किमी कालोपत्र भएको कालिगण्डकी कोरिडोर(बेनी-जोमसोम-कोरला) सडक योजनाका प्रमुख ध्रुवकुमार झाले जानकारी दिए ।

उनका अनुसार मुस्ताङखण्डमा छुसाङसम्म कालोपत्र भएको छ । छुसाङदेखि कोरलासम्म ९० किमी ग्राभेल गरिएको छ । कालिगण्डकी कोरिडोरमा कन्टेनरहरू सजिलै गुड्न सक्ने उनले बताए ।

कालिगण्डकी करिडोरमा ठूला कन्टेनर गुडाउन कुनै समस्या छैन । अधिकांश ठाउँमा बाटो राम्रो छ । म्याग्दीको सिरुबारी, मुस्ताङको गमी लगायत ठाउँमा पहिरो र बाढीले सडक बिग्रिएको छ । त्यसको पनि मर्मत भइरहेको छ , १०१५ दिनमा मर्मत सकिन्छ,’ उनले मेरोअटोसँग भने ।

मालढुंगा कोरला खण्डमा १९ वटा पुल निर्माण सम्पन्न भएका थिए । तर, तीमध्ये ३ वटा पुल बाढीले बगाएको उनले बताए । सो स्थानमा बेलिब्रिज राखेर यातायात सुचारु गरिएको उनले बताए । रुप्से झरना, कागबेनी खोला र खहरे खोलामा बेलिब्रिज राखिएको उनले बताए । यद्यपि, बेलिब्रिजमा २५ टनभन्दा ठूला क्षमताका सवारी गुडाउन नपाइने उनले बताए । समग्रमा कालिगण्डकी करिडोरको भौतिक प्रगति ८६ प्रतिशत पुगेको उनकाे भनाइ छ ।


Back_to_top