काठमाडौं । भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा कैलालीमा मात्रै ६०० बढी सवारी साधन जलाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययन अनुसार जिल्लाभर दुई/चारपाँग्रे गरी करिब ६०० वटा सवारीसाधन जलाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरण अनुसार १०० वटा चारपाँग्रे र ५०० वटा मोटरसाइकल÷स्कुटर आगजनीले नष्ट भएको पाइएको बताए ।
उनले १०८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको बताए । प्रदर्शकारीले जिल्लामा अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरेका थिए ।
प्रदर्शनकारीले धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका, नेपाल प्रहरीको बाहेक प्रायः सबैजसो सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
त्यस्तै, अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका सरकारी संरचनामा समेत क्षति पुगेको छ । त्यसैगरी, विभिन्न राजनीतिक दलको पार्टी कार्यालय, नेताका निजी घर समेत जलाइएका छन् ।
क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।

