काठमाडौं । देशभर सार्वजनिक सवारीसाधन संचालन गर्ने निर्णय भएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा सिंहदरबारमा बसेको सरोकारवाला निकायको बैठकले जेनजीको आन्दोलका कारण बन्द भएको सार्वजनिक यातायात देशव्यापी रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका कारण भदौ २४ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प भएको थियो । काठमाडौं उपत्यकामा भने हिजोदेखि सार्वजनिक यातायात संचालनमा आएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंकका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको छ ।
उक्त समितिले सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरेर बैठक बसी अग्रिम टिकट बुकिङ खुला हुने मिति तोक्नेछ ।


