युरोपमा चर्चा कमाउँदै ‘बी-०५’, के के छन् फिचर ?

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरले आफ्नो पहिलो ह्याचब्याक कार सार्वजनिक गरिसकेको छ । चीनमा लाफा-फाइभ नामबाट बिक्री सुरू हुन लागेको नयाँ कारलाई चीन बाहिर बी-०५ नामबाट बिक्री थालिने भएको हो ।

जर्मनीको म्युनिखमा भएको मोबिलिटी शो मार्फत ग्लोबल डेब्यू भएको बी-०५ को लम्बाइ ४४३३ एमएम रहेको छ । यसले सिंगल चार्जमा ६०५ किलोमिटर दिने ब्याट्रीप्याक रहेको कम्पनीको भनाइ छ । कम्पनीले जारी गरेको स्पेक अनुसार बी-०५ मा १६० किलोवाटको मोटर रहने छ ।

लीपमोटर बी-०५ कम्पनीको सिग्नेचर डिजाइन ल्याङ्वेजमा बनेको ह्याचब्याक कार हो । यसमा स्लान्टेड बोनेट, फ्लस डोर ह्याण्डल र लोवेल्ट लाइनले बी०५ कारको ड्रयाग कोफिसियन्टलाई सघाउने कम्पनीको दाबी छ ।

क्रसओभर ह्याचब्याक बी-०५ कारको लम्बाइ ४४३० एमएम, चौडाइ १८८० एमएम र उचाइ १५२० एमएम हुनेछ । यसको ह्वीलबेस २७३५ एमएम छ । अप्रोच एङ्गल १४ डिग्री र डिपार्चर एङ्गल २२ डिग्री रहेको बी-०५ यही वर्षको अन्तिमबाट बिक्री सुरू हुनेछ ।

लीपमोटरले यसमा १९ इन्चको ह्वील दिएको छ । साथै, सुरक्षाको लागि बी-०५को रुफमा लाइडार सेन्सर छ । यस क्रसओभर कारको तौल १६६५ देखि १७१५ केजी सम्म रहने छ ।

यसमा रहने ब्याट्री प्याकको विषयमा आधिकारिक जानकारी नआए पनि दुई ब्याट्री अप्सनमा आउने अनुमान गर्न सकिन्छ । यसको रेन्ज ५१५ र ६०५ किलोमिटरको रहने बताइएको छ ।


Back_to_top