काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन-भदौ) विद्युतीय कार (ईभी) आयातमा भारी गिरावट आएको छ ।
गत आवको भदौसम्मको तुलनमा चालु आवको सोही अवधिमा विद्युतीय कार आयत ६९.७९ प्रतिशतले घटेको हो ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको दुई महिनामा कुल ४८६ युनिट विद्युतीय कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १११८ युनिट कम हो । गत वर्ष २ महिनामा १६०२ युनिट ईभी कार आयात भएको थियो ।
२ महिनामा १ अर्ब २७ करोड रुपैयाँ बराबरको विद्युतीय कार आयात भएको हो । यसबापत सरकारले ८० करोड ६७ लाख रुपैयाँ राजस्व पाएको छ ।
चालु आवको २ महिनामा आयात भएको कुल ईभीको संख्या हुन्डाईले आयात गरेको अनएसेम्बल क्रेटा र भेन्युभन्दा पनि कम हो । भदौसम्म हुन्डाईले ६८२ युनिट अनएसेम्बल सवारी आयत गरेको छ । त्यस्तै, २ महिनामा ५१४ पेट्रोल कार आयात भएको छ ।
यस वर्ष बाढीपहिरोका कारण चिनियाँ नाका रसुवागढी र तातोपानी बन्द हुँदा ईभी आयात ह्वात्तै घटेको हो । दुवै नाका गत असार तेस्रो सातादेखि बन्द छन् । जसकारण ईभी आयातमा भारी गिरावट आएको हो । व्यवसायीहरुले २ हजार बढी कार ल्याएका भए पनि बीचैमा रोकिएक छन् ।
तातोपानी र रसुवागढी नाका बन्द भएपछि व्यवसायीहरूले अहिले कोरला नाका हुँदै ईभी आयात गरिरहेका छन् ।


