मासिक ६० हजार कमाइ गर्नेले कुन कार किन्ने ?

काठमाडौं । नेपालमा काम गर्दा कमाइ कम हुने र उच्च करका कारण महँगो हुने हुँदा सबैले सवारी साधन राख्न सक्दैनन् । सार्वजनिक यातायात भरपर्दो र सुरक्षीत भएको भए, धेरैलाई निजी सवारी साधन पनि चाहिने थिएन ।

न त हाम्रो सार्वजनिक यातायातको अवस्था राम्रो छ । या निजी रूपमा प्रयोग हुने साधनमा कर नै कम छ । त्यसैले सामान्य मोटरसाइकल किन्न ३ लाख र इन्ट्री मोडलका कार किन्न कम्तीमा २० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । पेट्रोल कारको इन्ट्री मूल्य नै २८ लाख रुपैयाँभन्दा माथि छ ।

अहिले मासिक रूपमा नियमित आम्दानी ६०/७० हजार रुपैयाँ हुनेले गाडी चढ्न सक्ने अवस्था छैन । गाडी किन्न सुरूमै बुझाउनु पर्ने डाउन पेमेन्ट पनि धेरै छ । मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट विना गाडी खरिद गर्न सकिदैन ।

मानौं, तपाईंं २० लाखको गाडी किन्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंंको हातमा ८ लाख रुपैयाँ नगद रकम हुनुपर्छ । यदि, त्यति रकम छैन भने तपाईंंको कार चढ्ने सपना पूरा हुन सक्दैन । मासिक कमाई ६० हजार छ भने तपाईंंलाई ८ लाख नगद जम्मा गर्न सजिलो हुनेछैन । परिवारमा अन्य सदस्यको पनि कमाइ भएको खण्डमा तपाईंंले डाउन पेमेन्ट पुर्याउन सक्नु हुनेछ ।

डाउन पेमेन्ट बुझाउने रकम भएको खण्डमा १२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा बापत लिन सकिन्छ । उक्त रकम कर्जा लिन कम्तीमा तपाईंंको स्रोत खुल्ने मासिक कमाइ ४० हजार रुपैयाँ भए पुग्छ । किनभने केन्द्रीय बैंकले मासिक आम्दानीको आधा रकमले किस्ता तिर्न पुग्ने हुनुपर्छ भनेको छ । तर, कर्जा दिने वा नदिने निर्णय बैंकमा निर्भर रहन्छ ।

६० हजार आम्दानी हुनेलाई कुन कार ठिक ?

अहिले बजारमा ईभी हेर्नु भयो भने १७ लाख रुपैयाँदेखि ठिकठाक कम्पनीको पाइन्छ । तर, पेट्रोलमा जान चाहनेलाई २८ लाख इन्ट्री मोडल कै तिर्नुपर्छ । यदि, तपाईंको अधिकांश यात्रा सहरी क्षेत्रमा छ भने सहजै ईभी लिने निर्णय गर्न सक्नुहुन्छ । होइन, यात्रा हाइवे वा पहाडी भेगमा पनि गर्नुपर्छ भने पेट्रोल रोज्दा धेरै फाइदा पुग्छ ।

विद्युतीय कारमा तपाईंको लागि धेरै छनोट उपलब्ध छन् । मिनी कारमै सेरेस मिनी, एमजी कोमेट, केई इक्यूट-०२, चांगान लुमिन जस्ता मोडल छन् । होइन चार ढोका भएका साना कार खोज्दै हुनुहुन्छ भने इक्यूट-०४, टाटा टियागो ईभी, विलिङ विङ्गो ईभी, बीवाइडी एटो वान, लीपमोटर टी-०३, हेनरी भोल्टस् जस्ता मोडल छन् ।

पेट्रोल कारमा जाने हो भने अल्टो के-१० को सुरूवाती भेरियन्टकै २८ लाख ४९, सेलेरियोको ३० लाख ९९ हजार रुपैयाँ छ । त्यसैले ३० लाखभन्दा कम मूल्यका आफ्नो लागि उपयुक्त कार मासिक ६० हजार कमाइ गर्नेले खरिद गर्न सक्नेछन् ।


Back_to_top