बीपी राजमार्गमा रातभर चले डोजर, आज बेलुकासम्म खुल्ने

काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा बिहीबार रातभर काम गरिएको छ ।

शुक्रबार बेलुकासम्म सडक खुलाउने गरी रातभर विभिन्न खण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएको हो । डाइभर्सन निर्माण गर्न ठेक्का पाएका कम्पनीका कर्मचारीहरु, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश लगायतको टोली फिल्डमा खटिएको छ ।

सडक डिभिजन भक्तपुरका प्रमुख योगेशले जतिसक्दो चाँडो सडक खुलाउन बिहीबार रातिमा समेत काम गरिएको बताए । हिजो राति १ दर्जन बढी उपकरण प्रयोग गरी काम गरिएको उनले बताए ।

बाढीले बगाएको काभ्रेतर्फको १५ स्थानमध्ये १ दर्जन ठाउँमा डाइभर्सन निर्माण भइसकेको उनले बताए । बाँकी ठाउँमा पनि डाइभर्सन निर्माण अन्तिम चरणमा पुगेकाले आज अपराह्नसम्म सडक खुलाइने उनले बताए ।

‘जतिसक्दो चाँडो सडक खुलाउन रातिमा समेत निरन्तर काम गर्यौं । धेरै ठाउँमा काम सकिसक्यो । अहिले माथिल्लो र तल्लो माम्तीमा काम भइरहेको छ । आज दिउँसोसम्म सडक खुल्छ,’ उनले भने । काभ्रेखण्डमा झण्डै साढे ३ किमी डाइभर्सन निर्माण भइसकेको उनले बताए ।

बाढीले काभ्रेपलाञ्चोकतर्फ ४००८ मिटर र सिन्धुलीतर्फ ८०० मिटर गरी कुल ४८०० मिटर डाइभर्सन बगाएको थियो । सिन्धुलीतर्फ डाइभर्सन निर्माण सकी बिहीबार दिउँसोदेखि नै सवारी संचालनमा ल्याइएको थियो । काभ्रेतर्फ आजसम्म काम सकी खुलाइले भएको हो ।

काठमाडौंबाट पूर्वी तराई जाने सबैभन्दा छोटो दुरीको बीपी राजमार्ग एकसातादेखि बन्द हुँदा यात्रुले विभिन्न वैकल्पिक सडकमार्फत यात्रा गर्दै आएका छन् ।


Back_to_top