काठमाडौं । बाढी पहिरोका कारण देशभरका ५ मुख्य राजमार्ग अझै बन्द छन् ।
नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ८ बजेसम्म कोशी र बागमती प्रदेशका ५ जिल्लाको ६ स्थानमा सडकखण्ड अवरुद्ध रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न ३ ठाउँमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा बाढीले सडक कटान गर्दा बीपी राजमार्ग, इलामको राजदुवली लगायत स्थानमा अविरल वर्षाका कारण मेची राजमार्ग र तमोर करिडोरको पाँचथरको तुम्वेवा गाउँपालिका खण्ड पूर्ण रूपमा बन्द रहेको छ ।
बाढी पहिरोका कारण अवरुद्ध अरु सबै सडक भने संचालनमा आएको प्रहरीले जनाएको छ ।


