काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ सेन्ट्रो केही समय अगाडिदेखि नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ । नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालि र हुन्डाई मोटरको सहकार्यको १० वर्ष भएको अवसरमा हुन्डाईले ‘अल न्यू सेन्ट्रो’को तीन भेरियन्ट म्याग्ना, स्पोट्ज र आस्टा नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
यस्तै, नेपाली बजारमा अत्याधिक रुचाइएको मारुती ह्याचब्याक कार सेलेरियो, सन् २०१४ देखि नेपाली बजारमा बिक्री वितरण भइरहेको भएपनि यसको पहिलो फेसलिफ्ट मोडल २०१७ मा नेपाल आएको हो ।
अहिले नेपाली बजारमा सेलेरियोको तीन भेरियन्टको बिक्री बितरण भैरहेको छ जसमा भीएक्स आई, जेडएक्सआई र जेडएक्सआई (अप्सनल) रहेका छन् ।
यस्तोमा सेन्ट्रो र सेलेरियो बीच कुन किन्ने भन्ने विषयमा तपाई दोधारमा हुनुहुन्छ भने यसमा भएका फिचरहरुलाई हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
इन्जिन
हुन्डाईको सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ भने, मारुती सुजुकी सेलेरियोमा १.० लिटर क्षमताको थ्री–सिलिन्डर के–१०–बी इन्जिन दिइएको छ ।
सेन्ट्रोको १०८६ सीसी क्षमताको इन्जिनले ६९ बीएचपी पावर र ९९ एनएम–टर्क जेनेरेट गर्छ भने सेलेरियोमा दिइएको ९९८ सीसी इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्छ ।
यी दुबै कारमा ५–स्पीड म्यानूअल गियरबक्स र एएमटी ट्रान्समिसनमा समेत उपलब्ध रहेको छ ।
माइलेज
भारतीय रिर्सच एजेन्सी एआरएआईका अनुसार मारुती सुजुकी सेलेरियोले प्रतिलिटर २३.१ किलोमिटर माइलेज दिन्छ भने हुन्डाई सेन्ट्रोले प्रतिलिटर २०.३ किलोमिटर माइलेज प्रदान गर्छ ।
मूल्य
नेपाली बजारमा मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेका यी दुबै कार सडकमा राम्रै गुडेको भेटिन्छ । पुरानो सेन्ट्रो र सेलेरियोको सडकमा उपस्थिति निकै बाक्लो रहेको छ । यद्यपी नयाँ सेन्ट्रो भने एक महिना अगाडि मात्रै बजारमा आएको हो ।
नेपाली बजारमा भर्रखरै आएको नयाँ सेन्ट्रो म्याग्ना भेरियन्टको मूल्य २४ लाख ९६ हजार, म्याग्ना अटोमेटिकको मूल्य २८ लाख ५६ हजार, स्पोट्जको मूल्य २६ लाख ९६ हजार र आस्टाको मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी नेपाली बजारमा उपलब्ध सेलेरियोको भीएक्सआई भेरियन्टको मूल्य २३ लाख ९९ हजार र जेडएक्स आई अप्सनलको मूल्य २६ लाख ७९ हजार र जेडएक्सआई एक्स अप्सनलको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
डायमेन्सन
लम्बाइको कुरा गर्दा यी दुई कारमा सेलेरियो करिब ८५ एमएमले लामो रहेको छ । सेलेरियोको लम्बाई ३ हजार ६९५ एमएम रहेको छ भने सेन्ट्रोको लम्बाई ३ हजार ६१० एमएम रहेको छ ।
चौडाईमा भने सेन्ट्रो ४५ एमएम फराकिलो रहेको छ यसको चौडाई १ हजार ६४५ एमएम रहेको छ भने सेलेरियोको चौडाई एक हजार ६०० एमएम रहेको छ । दुबै कारको उचाई भने समान एक हजार ५६० एमएम रहेको छ । सेलेरियोको ह्वील बेस २ हजार ४२५ एमएम रहेको छ भने, सेन्ट्रोको ह्वील बेस २ हजार ४०० एमएम रहेको छ ।
नयाँ सेन्ट्रोमा १४ इन्चको ह्वील दिइएको छ भने, सेलेरियोमा १३ इन्चको ह्वील लगाइएको छ । ग्राउन्ड क्लियरेन्समा दुबैमा समान १६५ एमएम रहेको छ ।
विशेषता
नयाँ सेन्ट्रोमा ७ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । जसमा नेभिगेसन, फोन, यूएसबी कनेक्टिभीटीलगायतको सुविधा रहेको छ । सेन्ट्रोमा एबीएस, ईबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन ईमोबिलाइजर, रियर पार्किङ क्यामेरा वीथ सेन्सर, फगल्याम्प, चाइल्ड–सेफ्टी, डोर–लकजस्ता सेफ्टी फिचर दिइएको छ ।
त्यस्तै, सेलेरियोमा स्ट्याण्डर सेफ्टी फिचरको रुपमा ड्राइभर साइड एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम, चाइल्ड–सेफ्टी आदि रहेको छ । यसमा इन्जिन ईमोबिलाइजर, फगल्याम्प, चाइल्ड–सेफ्टी, डोर–लकजस्ता सेफ्टी फिचर दिइएको छ ।


