एउटै इन्जिन दुई एसयूभीः किक्स किन्ने कि क्याप्चर ?

काठमाडौं । निशानले २०१९ को जनवरीमा निशानको नयाँ  कम्प्याक एसयूभी किक्स सार्वजनिक गरेको थियो । निशानले भारतीय बजारमा रेनो डस्टरको कपि गरेर बनाएको टेरानाको बिक्री लगभग बन्द भएपछि आफ्नो नयाँ कम्प्याक एसयूभी ‘निशान किक्स’ को बिक्री वितरण सुरु गरेको हो । ‘नयाँ बोतलमा पूरानो वाइन’ भन्ने एक प्रचलीत उखानलाई मूर्त रुप दिएको छ निशानको किक्सले ।

त्यस्तै रेनोले बजारमा ल्याएको क्याप्चरले बजारमा राम्रै व्यापार गरिरहेको छ । नेपाली बजारमा सुरुवाति दिनमा खासै राम्रो व्यापार गर्न नसकेको क्याप्चरले पछिल्ला दिनमा निकै राम्रो व्यापार गरिरहेको छ । यसलाई युरोपियन डिजाईन थिममा फ्रेन्च अटोमेकर रेनोले पहिलो पटक डासिया बिओ प्ल्याटफर्ममा बनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा निशान र रेनोबीच मर्जरको प्रकृया अगाडी बढीरहेको छ भने भारतीय बजारमा यी दुबै कम्मनीका गाडीहरु एउटै प्लान्टमा उत्पादन हुँदै आएका छन् । यी दुई मोडल रेनोको डासिया बीओ प्ल्याटफर्ममा बनेकोले दुबैका बिचमा विशेषता, मूल्य, एक्सटेरियर, इन्टेरियर फिचर, डाइमेन्सन लगायतका पक्षमा धेरै समानता रहेको छ ।

पर्फेमेन्स

रेनो क्याप्चर र निशान किक्समा एउटै १.५ लिटर डिजेल र १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । दुबैमा दिइएको एचफोरके पेट्रोल इन्जिनले समान १०४ बीएचपी पावर र १४२ एनएम टर्क उत्पादन गर्छ । दुबै एसयूभीमा ५ स्पीड म्यानुयल र सिभिटि गियरबक्स जडान भएको छ ।

त्यस्तै दुबै गाडीमा प्रयोग गरिएको एउटै केनाईनके डिसीआई डिजेल इन्जिनले १०८ बीएचपी पावर र २४० एनएम टर्क उत्पन्न गर्छ । यस इन्जिनमा ६ स्पीड म्यनुयल गियरबक्स जडान गरिएको छ ।

माइलेज

एउटै इन्जिन भएका दुबै गाडीले समान माइलेज प्रदान गर्ने छन् । दुबै गाडीमा दिइएको १.५ लिटर पेट्रोल एचफोरके इन्जिनले प्रतिलिटर १४.८७ किलोमिटर माइलेज प्रदान गर्छ भने, दुबैको डिजेल भेरियन्टले प्रतिलिटर २०.४५ किलोमिटर माइलेज प्रदान गर्छ ।

मूल्य

निशान किक्सको नेपालमा सुरुवाती बजार मूल्य ४७ लाख ९९ हजार रुपैयाँ र टप लेभलको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ  छ । किक्स डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन भेरियन्टमा उपलब्ध छ भने पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

त्यस्तै, क्याप्चरको पेट्रोल भेरियन्टमा चार र डिजेलमा पाँच भेरियन्टमा उपलब्ध रहेको छ । क्याप्चरको नेपाली बजारमा सुरुवाति मूल्य ४८ लाख १४ हजार ३४५ रुपैयाँ रहेको छ, भने टप भेरियन्टको मूल्य ६४ लाख ८९ हजार ३०७ रुपैयाँ रहेको छ ।

डायमेन्सन

निशान किक्सको लम्बाई ४३८४, चौडाई १८१३ र उचाई १६५६ एमएम रहेको छ । यसमा २६७३ एमएमको ह्वीलबेश दिइएको छ । रेनो क्याप्चरको लम्बाई ४३२९, चौडाई १८१३ र उचाई १६२६ एमएम रहेको छ । रेनो क्याप्चरमा २६७३ एमएमको ह्वीलवेश दिइएको छ । दुबैको ग्राउन्ड क्लेरेन्स समान २१० एमएम रहेको छ । दुबै एसयुभीलाई साइड प्रोफाइलबाट हेर्दा फरक छुट्टाउन समेत गह्रो पर्छ ।

विशेषता

निशान किक्समा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमका साथै अन्य धेरै प्रिमियम फिचर उपलब्ध छ । कारमा एलइडी हेडल्याम्प्स र बुमरेंग शेपको टेललाइट दिइएको छ । यसमा चाइल्ड ग्लोबबक्स, क्लाईमेट कन्ट्रोल, रियर एसि भेन्ट, मल्टी फक्शन स्टेयरिंग ह्वील र डिजीटल स्पिडोमिटरलगायतका विशेषता उपलब्ध छन् ।

रेनो क्याप्चरमा एबीएस, इबीडी, इबीए, ड्राइभर र प्यासेन्जर फ्रन्ट एयर ब्याग, ड्राइभर र प्यासेन्जरको लागि साइड एयरब्याग, अटोमेटिक डिप हेडलाइट, अटोमेटिक वीन्डस्क्रिन तथा वाइपर, एसबीआर, साइड इन्टीकेटर, स्पीड सेन्सीङ र इम्प्याक सेन्सीङ अटो डोर, इन्जिन इमोबिलाइजर जस्ता विशेषता दिइएको छ । साथै, डियूल टोन रुफ, १७ इन्च अलोय ह्वील, क्रोम लाइट सराउन्ट र क्रोम स्ट्रिप टेलगेटको विशेषता दिइएको छ ।

निश्कर्ष

यी दुबै एसयूभीका आ–आफ्नै विशेषता पाइन्छ । यूरोपियन डिजाइन मनपराउनेका लागि क्याप्चर उत्कृष्ट लाग्न सक्छ भने जापनीज डिजाइन मनपराउनेको रोजाईमा किक्स पर्न सक्छ ।

यी दुबै गाडी उस्तै छन् । डिजाइनको अलावा टप भेरियन्ट क्याप्चरमा धेरै फिचर रहेका छन् भने क्याप्चरको टप भेरियन्ट केही महंगो पनि रहेको छ । नेपालमा सेल्स र सर्भिसको मामलामा दुबै कम्पनी समान रहेका छन् ।


Back_to_top