पठाओ चालक बन्न परीक्षामा ८० प्रतिशत अंक ल्याउनुपर्ने

काठमाडौं । पठाओ चालक (राइडर) बन्नका लागि परीक्षामा ८० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । पठाओ नेपालले आफ्नो सेवा देशभर फैलँदै गएसँगै राइडरका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको हो ।

कम्पनीका अनुसार राइडर बन्नका पठाओ ड्राइभ एपमा खाता खोली आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ । आवेदन दिनेसँग सवारी साधनको ब्लूबुक, लाइसेन्स र तेस्रो पक्ष बीमा अनिवार्य हुनुपर्छ ।

आवेदन दिइसकेपछि पठाओ कार्यालयले पेश गरेको कागजात ठिक देखेमा २४ घण्टाभित्र खाता प्रमाणीकरण गर्नेछ । त्यसपछि आवेदकले पठाओ ड्राइभ एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण लिनुपर्नेछ ।

प्रशिक्षण पूरा भइसकेपछि एपबाटै परीक्षा दिनुपर्नेछ । उक्त परीक्षामा सामेल व्यक्तिले ८० प्रतिशत अंक ल्याए मात्रै राइडर बन्न पाउने कम्पनीले जनाएको छ । परीक्षामा फेल भएमा भोलिपल्ट नै प्रशिक्षण लिएर पुनः सामेल हुन पाउने छन् ।

पठाओका अनुसार परीक्षामा उत्र्तीण हुने (८० प्रतिशत माथि अंक ल्याउने) व्यक्तिहरुलाई कम्पनीले एसएमएस मार्फत सम्झौतापत्र पठाइने छ । सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आधिकारिक रूपमा पठाओ राइडर बन्न सकिने कम्पनीले जनाएको छ ।

यसले राइडर बन्ने प्रक्रियालाई अझ पारदर्शी र सजिलो बनाएको कम्पनीको भनाइ छ । इच्छुकहरूले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरू गर्न सक्नेछन् ।


Back_to_top