कोरलाबाट भित्रिए १७२६ युनिट ईभी र ९३१ कन्टेनर, उठ्यो पौने ४ अर्ब राजस्व

फाइल तस्बिर

काठमाडौं ।विकल्पको रूपमा संचालनमा ल्याइएको मुस्ताङस्थित कोराला नाका चीनतर्फको मुख्य व्यापारिक नाकाको रूपमा देखिएको छ ।चालु आवको २ महिनामै यस नाकाबाट १७०० बढी विद्युतीय सवारी र झण्डै १ हजार कन्टेनर मालसामान ल्याइएको हो ।

मुस्ताङस्थित कोरला नाका हुँदै दुई महिनामा १ हजार ७२६ युनिट विद्युतीय कार (ईभी) आयात भएका छन् । गत भदौ ३० गतेदेखि कात्तिक मसान्तसम्म चीनबाट कोरला नाका हुँदै उक्त संख्यामा ईभी नेपाल ल्याइएको हो । असोज (भदाै २ दिनसहित)मा १४९८ युनिट र कात्तिकमा २२८ युनिट ईभी भित्रिएका हुन् ।

यो यस वर्ष चिनियाँ नाकाहरू मध्येबाट आयात भएको सबैभन्दा धेरै ईभी हो । वर्षायाममा मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द हुँदा व्यवसायीले पहिलोपटक भदौ अन्तिमदेखि कोरलाबाट ईभी ल्याउन थालेका थिए । तातोपानी नाका संचालनमा आए पनि रसुवागढी अझै बन्द छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले २ महिनाको अवधिमा कोरला नाका हुँदै १ हजार ७२६ युनिट ईभी भित्रिएको जानकारी दिए । उनले अहिले पनि ईभी आउने क्रम जारी रहेका बताए । यद्यपि, आयात हुने संख्या भने कम रहेको उनले बताए ।

‘भदौ अन्तिमदेखि न्हेचुङमा भन्सार कार्यालय नियमित संचालनमा आएसँगै चीनबाट धमाधम ईभी आइरहेका छन् । २ महिनाको अवधिमा १ हजार ७२६ युनिट भित्रिए,’ उनले मेरोअटोसँग भने, ‘अहिले असोजको जस्तै ठूलो संख्यामा आयात भइरहेको छैन । थोरै थोरै आइरहेका छन् ।’तातोपानी नाका खुलेको र चाडवाड सकिएकाले पनि आयात घटेको हुनसक्ने उनको भनाइ छ ।

कोरला नाका हुँदै बीवाइडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लीपमोटर बी १०, प्रोटोन इमास सेभेन, ओमोडा ई फाइभ र डोङफेङ ईभी आयात भएका हुन् ।

भित्रियो ९३१ कन्टेनर सामान

त्यस्तै, दुई महिनाको अवधिमा चीनबाट कोरला नाका हुँदै ९३१ वटा मालवाहक ढुवानी कन्टेनर आएको उनले जानकारी दिए । व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका हुन् ।

कोरलाबाट सामान आयात मात्र होइन निर्यात पनि भएको छ । २ महिनाको अवधिमा नेपालबाट ५५ कन्टेनर सामान चीनतर्फ निर्यात भएको उनले जानकारी दिए । ‘कोरलाबाट ईभी मात्रै होइन अन्य सामान पनि भित्रिरहेको छ । २ महिनामा चीनबाट ९३१ कन्टेनर सामान भित्रियो । नेपालबाट ५५ कन्टेनर चीन पठाइयो,’ उनले भने ।

उठ्यो पौने ४ अर्ब राजस्व

ठूलो परिमाणमा ईभी र मालवस्तु आयात हुँदा उल्लेख्य मात्रमा राजस्व संकलन भएको छ । २ महिनामा ३ अर्ब ६८ करोड १७ लाख ९८ हजार ५३० हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको उनले बताए ।

भन्सार विभागले भदौ अन्तिम साता मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरी संचालनमा ल्याइएको थियो ।

त्यस्तै, चीनबाट आयात गरिएको सामानको सहज जाँचपासका लागि प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ । लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।


Back_to_top