अग्नि ग्रुपले काठमाडौं इन्स्टिच्युटलाई दियो दुइटा महिन्द्रा एक्सयूभी ४००

काठमाडौं । अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच) लाई दुई वटा महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी प्रदान गरेको छ ।

नेपालमा महिन्द्रा गाडीहरूको अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत संचालित यस फाउण्डेशनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त संस्थालाई दुइटा एक्सयूभी हस्तान्तरण गरेको हो ।

वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभीहरूले केआइओसीएचका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्थाले जनाएको छ ।

अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले अग्नि ग्रुप ३५ वर्षे यात्रामा साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएको बताइन् । ‘३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पुर्याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो,’ उनले भनिन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले संस्थाले स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू संचालन गर्दै आएको बताए ।

‘यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू संचालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पुर्याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,’ उनले भने ।

अग्नि ग्रुपको राइजिङ टुगेदर भन्ने मूल्य-दर्शनले व्यवसायिक सफलता मात्र होइन, समुदायको उन्नतिलाई पनि उत्तिकै महत्व दिन्छ । अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्-व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पीआईसीयू र एनआईसियूको मर्मत-सम्भार तथा स्तरोन्नति गरिसकेको छ ।

साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि ‘अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ । अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण रहेको संस्थाको भनाइ छ ।


Back_to_top