मुग्लिन पोखरा सडक दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन-पोखरा सडक योजना (पश्चिमखण्ड)ले एक सूचना जारी गर्दै आजदेखि राजमार्ग दैनिक ४ घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द हुने जानकारी गराएको हो ।

योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आजदेखि मंसिर ११ गतेसम्म  दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म र मध्याह्न १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर पुल निर्माण गर्न लागिएको हो ।

अहिले विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ । उक्त निर्माणाधीन पुलमा ग्रडर लन्चिङ गर्नका लागि सडक बन्द गर्न लागिएको उनले बताए । उक्त कार्य अतिसंवेदनशील भएकाले रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सडक बन्द गरी काम गर्नु परेको उनको भनाइ छ ।

सडक बन्द हुने समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।  दुईपाँग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे भएर आवतजावत गर्न सक्नेछन् ।

त्यस्तै,  ठूला सवारीसाधनलाई पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा आवतजावत गर्न आयोजनाले अनुरोध गरेको छ ।


Back_to_top